अन्तर्वार्ता

 भदौ २८, २०७६ शनिबार ८:५९:१६ | प्रज्ञा निराैला
unn.prixa.net

आज अन्तर्वार्ता रे !

छोराछोरी स्कुल पुगिसके होलान् । अफिस जाने पनि पुगिसकेहोलान् । घरका बिरामी पनि औषधि खाएर सुस्ताउन थाले ।दिमागमा यो कुरा सोच्न नपाउँदै हातको मस्को अनायसै भाँडामाथि दगुर्न थाल्यो । भाँडा काइँकुइँ कराउन थाले । मुटुको ढुकढुकी बढ्दै गएर बाहिरै सुनिएजस्तै लाग्यो । हतारहतार भान्साको सरसफाइ सकेर ‍ऐनाको अगाडि उभिएँ । आफूले आफूलाई राम्ररी नियालेँ, चिन्नै नसक्ने भएछु आफै झस्किएँ ।

काइँयोले सपक्क पारेको कपालबाट सेता दाँत ङिच्च देखाउँदै सिउँदोबाट जिस्क्याउने कपाललाई गुलाबी रङले  ढपक्क ढाकिदिएँ । अनुहारको निराशा हटाउन क्रिमपाउडर पोतिदिएँ ।आँखाका भावना बोल्ने भाकाहरुमा रङ मिलाउन गाजलले कोरिदिएँ ।जीवनको व्यथा कहने कलेँटी परेका ओठमा लिपिस्टिक दलिदिएँ र जबरजस्ती हँसिलो पारेँ ।

छरिएका कपाललाई एउटा रबरले टमक्क पारेर ऐनामा चियाएँ ।फरक रुप पाएँ । धेरै दिनपछि मुसुक्क मुस्कुराएँ, मन प्रफुल्ल भयो ।शरीर पूरा ढाकिने गरी सांसारिक रङमा फर्कने कृत्रिम रङका पहिरन लगाएँ अनि वर्षौंदेखि थन्किएर राखेका सर्टिफिकेटको फोल्डर बाकसबाट झिकेर हातमा बोक्दै फेरि ऐनामा तलदेखि माथिसम्म नियालेँ अनि अफिस गएको कल्पनामा आफैले आफैलाई टाटा गर्दै चाबीको झुत्तो हातमा समातेर ढोकामा ताल्चा मार्दै हिँडेँ ।

बाटोमा समय गएको पत्तै पाइनँ । अन्तर्वार्ता दिने ठाउँमा देखिएको लाइनले झसङ्ग बनायो । दुई जनाका लागि यति धेरै मानिस ? उफ् ! मन भरिएर आयो ।बाटोबाटै घर फर्कन मन लाग्यो । मनले आशा मारिसक्यो मैले त भनसुन गरेकै छैन । आफ्नो मान्छे कोही छैन तर पनि अनुभव त हुन्छ नि भन्थे भन्नेहरु ।आइहालेँ जान्छु भन्दै भिडतिर गएँ ।सबैको अनुहार नियाल्न थालेँ – उत्साहित,मुर्झित,आशा,निराशा,हताश, तनाव सबै मिश्रित भावहरु तरंगित थिए ।मेरो मनमा पनि यी भावहरु छताछुल्ल भएर पोखिएका थिए ।

अन्तर्वार्ता सुरु भयो – रोल नम्बर १,२,३,४,५……।मानिसहरु आउदैजाँदै गर्दा लाइन सर्दै गयो । रोल नम्बर २१ भन्दा मन झसङ्ग भयो ।मेरो पालो आएछ –बतासिँदै भित्र गएँ ।नमस्कार टक्राउँदै वरपर नियालेँ ।५,७ जना भद्रभलादमीहरु टाइसुटमा सजिएका, कसैले चस्मा पनि लगाएका, आधा कपाल फुलेका हातमा फैसला गर्ने कलम र कापी लिएका राउन्ड टेबलमा बसेका मानिसहरुको अगाडि एउटा कुर्सी खालि थियो ।कसैले इशारा गर्‍यो – बस्नुहोस् न ।

म कुर्सीमा बसेँ र वरिपरि हेर्न थालेँ ।यतिकैमा एउटा आवाज आयो –तपाईँको परिचय दिनुहोस् न ।मेरा सर्टिफिकेट कसैले अध्ययन गरिरहेकै थियो । सायद अन्य परिचय खोजेको हुनसक्छ भन्ने लाग्यो । मलाई मेरो परिचयमा अलमल भयो ।म, म, म,‍……..। म अक्मकिएँ । कसैले बिस्तारै सम्झाउँदै भन्यो –नआत्तिनुहोस्, बस्नुहोस्,पानी पिउनुहोस्, उसले पानीको बोतल मतिर सार्दै भन्यो । मैले बोतलको पानी अलिकति पिएँ । उसले फेरि भन्यो अब भन्नुहोस् त ! म शान्त भएर मेरो परिचय खोज्न थालेँ र विस्तारै बोल्न थालेँ –भूत, द्रौपदी,पशु, उपेक्षित, कुन्ठित, पीडित, दमित, अप्सरा……..। सबैले एकैपटक आश्चर्य प्रकट गरे हँ……..?

म अझै परिचय थप्दै गएँ … छोरी, श्रीमती, आमा, भाउजू, काकी, भान्से, धोबी, धाई,…..।बीचैमा कसैले कुरा काट्यो र बोल्यो । हैन तपाईँको परिचय दिनुहोस् न भनेको त के भन्नु हुन्छ के । तपाईँ अन्तर्वार्तामा हुनुहन्छ थाहा छ ? अर्को भलाद्मीले सुझायो ।

थाहा छ र त परिचय दिँदैछु । जवाफ दिनेबित्तिकै अर्को महाशयले भन्नुभयो पठाइदिउँ ।

एकछिन सन्नाटा छायो म भने मेरो परिचयका पाटाहरु खोतल्न थालेँ । विगत उप्किएर चरर्र भयो।एकैछिनमा चक्कर आउन थाल्यो । आफैले आफूलाई सम्हालेँ अनि भक्कानिएँ ।

सायद परिस्थितिलाई सम्हाल्ने मनसायले अर्को जनाले सोध्यो –तपाईँको क्वालिफिकेशन यानेकि योग्यता ?

मैले पुलुक्क उतिर हेरेँ जसको हातमा मेरो सर्टिफिकेटलगायतका कागजी परिचय बायोडाटा थियो उही व्यक्तिले सोध्दै थियो । मैले बीए पास गरेको कुरा त्यसमा लेखिएकै थियो । सायद उसले अन्य योग्यता सोधेको हुनुपर्छ – म पर्फेक्ट कुक, स्पेशल धाई, वासिङ मेशिन, ब्रुमर, सस्तो नोकर, सामाजिक अभियन्ता पनि अनि बायोडाटामा खुलेका विशेषतासहित बेरोजगार पनि ।

हैन यस्ता दिमागी हालत बेहाल भएकाहरुको पनि अन्तर्वार्ता लिने हो ? पठाइदिउँ बाहिर । अर्को महाशय कड्किदै हुनुहुन्थ्यो । म फलामलाई चुम्बकले तानेको जस्तै गरी कुर्सीमा टाँसिएकी थिएँ । आफ्ना योग्यताको परीक्षण गर्दै थिएँ । आज आफ्नै योग्यताको बारेमा सोच्ने मौका अन्तरवार्ताले जुराइदिएको थियो ।थाहा छैन मेरा योग्यताहरु एक एक विश्लेषण गर्ने हो भने कति लामो लाइन हुन्छ होला ? म आफूले आफैलाई चिन्ने कोसिसमा थिएँ अनि अरुले मलाइ कसरी चिन्थे त ?

अर्को जना महाशयले मेरो दिमाग टेस्ट गर्ने हिसाबले सोध्नुभो –तपाईँको ठेगाना कहाँ हो ?

म झस्किएँ ! किन कागजमा भएकै कुराहरु यिनीहरुले दोहोर्‍याउँछन् यिनीहरु ? कतै पागल त भएका छैनन् ? मलाई रिस उठ्न थालिसकेको थियो तर आफै सम्हालिएँ । सायद बसोबास गरेको ठाउँ नै ठेगाना हो त्यही सोधेका होलान् यिनीहरुले – म जवाफ दिन थालेँ भान्सामा,खेतबारीमा,घरभित्र, ओछ्यानमा, जंगलमा, एकान्त कोठामा, मान्छेका पापी आँखामा,लोभी दिलमा अनि अनि कोठीमा सायद उखुबारीमा, खोलामा पापिष्टहरुको मनस्थितिमा………. । म एकोहोरो बोल्दै गएँ ।

अरुको धैर्यता छुटिसकेको थियो । अर्को अन्तर्वार्ताकारले मेरो हातमा मेरा सर्टिफिकेट र बायोडाटाहरु हातमा राखिदिँदै भन्योः अब तपाईँ जानुहोस् –उसको हात ढोकातर्फ लक्षित थियो ।मैले उसको अनुहारको रातो तातो र गरमपना अनुभूत गरिरहेकी थिएँ अनि हातमा राखिदिएको बायोडाटामा लेखिएको कुरा पढ्दै थिएँ –

नामः वैजयन्ती
ठेगानाः ३ नम्बर प्रदेश
योग्यताः बीए पास
विषयः मानविकी 
श्रेणीःप्रथम ।

मनमनमा आफ्नो बायोडाटा पढ्दै यति प्रष्ट लेखिएको कुरा पढ्न नजानेरै होला त मलाई यही प्रश्न दोहोर्‍याएको ?मेरा प्रश्नका जवाफहरु मिले कि मिलेनन् होला ? पुरुष अन्तर्वार्ताकारले विश्लेषण गरेकी गरेनन् होला ? यहाँ महिला अन्तर्वार्ताकार भइदिएको भए केही फरक पो हुन्थ्यो कि ? पितृसत्तात्मक जडसूत्रवादी परिस्थितिमा म कसरी जाचिएँ ? अन्तर्वार्ताका लागि तय गरिएका सीमाहरु प्रक्रिया मैले पूरा गर्न सकेँ या सकिनँ ? मैले दिएका जवाफहरु कुन कसीमा राखेर जाँचिए ?

दायाँबायाँ नहेरी म फटाफट घरतर्फ लागेँ । बासी रहेका कामहरुले मलाई जिस्क्याउँदै थिए । हातमा बोकेका सर्टिफिकेटलाई लगेर दराजको त्यही कुनामा राखेँ जुन वर्षौदेखि थन्किन अभ्यस्त थिए । मैले आफ्नो स्वरुपलाई ऐनामा हेर्न पनि बिर्सेछु कस्तो प्रतिक्रिया देखिन्थ्यो खै ?

शरीरले मेसिनको रुप धारण गरिसकेको थियो । बाहिर गएका पक्षीहरु भित्रिने क्रम सुरु भइसकेको थियो । ममी खाजा, बुहारी पानी, भाउजू नास्ता, भोक लाग्यो, एक कप चिया…… । अर्को पुरुष आवाज मदिराले भरिएर करायो पोथी बासेर संसार चल्ने भए भाले जति सबै काशीवास गर्न जान्थे होला, तुरुन्त सेवामा हाजिर हो । झसङ्ग भएँ म अन्तर्वार्ताकारमध्येको एउटा आवाज घरमा गुन्जिरहेको थियो । अब के-के हुने हो खै ?

अन्तिम अपडेट: पुस २९, २०७६

तपाईको प्रतिक्रिया