यूएई आउन थाल्यो नेपालको तरकारी

 भदौ २८, २०७६ शनिबार १३:१६:४५ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – नेपालमा उत्पादित तरकारी यूएई आउन थालेको छ । नेपालबाट ल्याइएको तरकारी शारजाहको सफारी मलमा बिक्रीसमेत सुरु गरिएको छ ।

यूएईको अल समन इन्टरनेशनल नामक कम्पनीले नेपालमा उत्पादित तरकारी गएको बुधबारदेखि यूएईको बजारमा ल्याएको हो । सफारी मलको तरकारी पाउने ठाउँमा नेपाली तरकारी लेखेर स्थानीय बजारको मूल्यमा बिक्री भैरहेको छ ।

त्यसरी राखिएका तरकारीहरुमा सिमी, बोडी, फर्सी, लौका र घिरौला छन् । त्यस्तै तितेकरेला, खुर्सानी, गुन्द्रुक तथा अन्य धेरै तरकारी राखिएको अल समन इन्टरनेशनलका कल्याण घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।

नेपालका विभिन्न स्थानबाट सिधै कृषकसँग सम्पर्क गरेर काठमाण्डौमा तरकारी संकलन गरिने र नेपालबाट एकै दिनमा तरकारी उडानबाट सिधै यूएई आउने घिमिरेको भनाइ छ ।  

अल समन इन्टरनेशनल प्रालीले दुई वर्षदेखि कतारमा नेपाली तरकारी पठाउन थालेको थियो । अहिले त्यही कम्पनीमार्फत कतारमा हरेक हप्ता १० हजार केजीभन्दा धेरै तरकारी बिक्री भैरहेको कम्पनीले जनाएको छ ।

नेपाली कृषकको मेहनत र श्रमको उचित मूल्यसहित प्रोत्साहन गर्ने कम्पनीले योजना बनाएको छ । स्तरीय तथा अर्गानिक नेपाली तरकारीको बजार प्रशस्तै भए पनि पहिचान बनाउन समय लाग्ने घिमिरेको भनाइ छ । 

यूएईमा नेपालीको संख्या बढेसँगै नेपाली तरकारीको माग पनि बढ्दो छ । त्यस्तै अन्य विदेशी नागरिकले पनि नेपाली उत्पादनलाई राम्रो मानेर प्रतिक्रिया दिइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया