मन्त्री योगेश भट्टराईलाई जहाजभित्र गालीगलौज

 भदौ २९, २०७६ आइतबार ७:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा केही युवाले जहाजभित्र गालीगलौज गरेका छन् । मन्त्री भट्टराईका कारण जहाज उड्न ढिलो भएको भन्दै उनीहरुले जहाजमा बसेका मन्त्री भट्टराईलाई गालीगलौज र हप्कीदप्की गरेका हुन् ।

राजावादी भनेर चिनिएका ज्ञानेन्द्र शाहीलगायत युवाले बुद्ध एयरको जहाजभित्र मन्त्रीलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा समेत राखेका छन् । नेपालगञ्जबाट काठमाण्डौ उड्न लागेको जहाजलाई मन्त्रीले एक घण्टासम्म कुराएको भन्दै उनीहरुले गालीगलौज गरेका हुन् ।

ज्ञानेन्द्र शाहीले ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो’ भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन् ।

मन्त्री भट्टराईले भने आफ्नो कारण जहाज १५ मिनेट मात्रै ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्नुभएको छ । मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उद्घाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर जानुभएको थियो । शनिबार साँझ उहाँ नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरबाट काठमाण्डौ फर्कनुभएको छ ।

मन्त्री भट्टराईले फेसबुकमा राख्नुभएको प्रतिक्रिया यस्तो छ :

‘कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सवको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाण्डौ फर्कने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाण्डौ र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाण्डौ र्फकनैपर्ने दबावमा म थिएँ । 

नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एक जनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौँ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालेँ । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।’

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया