तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि साउदी अरेबियाले तेलको उत्पादन घटायो

 भदौ २९, २०७६ आइतबार ११:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कमी गरेको छ । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ओटा ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाको तेल तथा ग्यासको उत्पादन प्रभावित भएको हो ।

समाचार एजेन्सी रोयटर्स तथा वाल स्ट्रिट जर्नलका अनुसार तेल प्रशोधन केन्द्रमा भएको हमलाका कारण तेल उत्पादनमा हरेक दिन ५० लाख ब्यारेल कमी हुनेछ । यो साउदी अरबको कुल तेल उत्पादनको आधा हो ।

ड्रोन हमलाको जिम्मा यमनको हुथी समूहले लिएको छ । समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको दाबी गरेका हुन् ।

साउदी अरबको राजधानी रियादबाट करिब ३३० किलोमिटर उत्तरपूर्वस्थित बुक्यापमा रहेको तेल कम्पनी र खुराइस तेल फार्ममा आक्रमण भएको थियो । आक्रमणबाट ठूलो क्षति भएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया