‘ट्राफिक प्रहरीको व्यवहारमा ९० प्रतिशत परिवर्तन भैसकेको छ’

 भदौ २९, २०७६ आइतबार १२:५६:५० | सिताराम हाछेथु
unn.prixa.net

ट्राफिक प्रहरी दिन रात नभनी, धुलो हिलोका बाबजुद पनि निरन्तर आफ्नो ड्युटीमा खटिएका हुन्छन् । सडकमा सबैभन्दा बढी खटिने ट्राफिक प्रहरी भए पनि उनीहरुले प्रयोग गर्ने व्यवहार र बोलीको विषयमा सधैँ चालक र पैदलयात्रीले गुनासो गर्ने गर्छन् । काम निकै राम्रो, तर बोली र व्यवहार निकै रुष्ट भनेर चिनिने ट्राफिक प्रहरीको आचरणप्रति प्रश्न उठ्ने गरेको छ ।

पहिले पहिले ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहारबारे धेरै नै गुनासा आउँथे । तर अहिले त्यसमा सुधार आएको छ ।

अहिले ट्राफिक प्रहरीले राम्रो व्यवहार गरेर, शिष्ट भाषा बोलेर व्यवहार गर्न माथिबाट आदेश आए अनुसार नै व्यवहार गर्ने गरेका छन् । तर ट्राफिक प्रहरीले राम्रो गर्दा पनि कहिलेकाहीँ चालकको व्यवहारले पनि असर गर्दछ । 

ट्राफिक प्रहरी पनि सामान्य मानिस हो । एक/दुई वर्ष तालिम गरेर ट्राफिक प्रहरी बनेको मात्र न हो । अब चालकको व्यवहारले पनि कहिलेकाहीँ ट्राफिक प्रहरी तात्तिन्छ ।‍ जस्तै नो पार्किङमा कसैले गाडी रोकेको छ अनि ट्राफिकले रोक्नु हुँदैन भन्दा उल्टै ‘किन रोक्नु हुँदैन, मेरो काम छ यहाँ’, भनेर चालकले ट्राफिक प्रहरीलाई थर्काउँछन् । 

अब नो पार्किङमा रोक्ने अनि चालकले नै ट्राफिक प्रहरीलाई गाली गर्दा ऊ तनावमा आउनु स्वाभाविक हाे । तर समग्रमा भन्दा पहिलेकाे भन्दा अहिले ट्राफिक प्रहरीको व्यवहारमा ९० प्रतिशत परिवर्तन भैसकेको छ । 

गल्ती गर्नेलाई कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई भए पनि गाली गर्नुपर्ने, कुटपिट गर्नुपर्ने चाहिँ छैन । तर कहिलेकाहीँ ट्राफिक प्रहरी पनि उत्तेजित हुन पुग्छन् । एउटा गाडीले गर्दा पूरै जाम भैरहेको हुन्छ । एक पक्षले के हरेको ? भनेर कराउँछन् अनि ट्राफिक प्रहरीले किन यसरी गाडी राखेको भनेर ठूलो स्वरले बोल्दा पनि दुर्व्यवहार गरेको भनेर गुनासो आउँछ ।

अहिले उपत्यकामा कुनै ट्राफिक प्रहरीको व्यवहार राम्रो भएन भने १०३ मा फोन गर्नुहोस्, हामी कारबाही गर्छाैँ भनेर ट्राफिक प्रहरी महाशाखाले भनेको छ । 

अहिले नयाँ आउनुभएका ट्राफिक प्रहरी प्रमुख भीम ढकालले हामी नागरिकको सेवाको लागि आएको हो, दुःख दिन आएको होइन, व्यवहार नराम्रो गर्न आएको होइन भनेर भन्नुभएको छ । आइजी सर्वेन्द्र खनालले पनि अपराध गरेको होइन, ट्राफिककाे गल्ती मात्र हो उसलाई सुधार गर्न सकिन्छ, सानो–तिनो गल्तीलाई सम्झाएर पठाउन सकिन्छ र ठूलो गल्ती भए मात्र कारबाहीकाे प्रक्रियामा जानुपर्छ भन्नुभएको छ ।

ट्राफिक प्रहरीको काम, कारबाही र व्यवहारमा पहिलेभन्दा धेरै फरक आएको छ र यसमा अझै सुधार गर्न बाँकी नै छ । अझै पनि त्यस्तो केही लागेमा १०३ मा फोन गरेर गुनासो टिपाउन सकिन्छ । 

पहिला हामी ट्राफिक चेकिङमा बस्दा यस्तो नराम्रो व्यवहारको निकै गुनासाहरु आउँथे ।

कतिपय चालकहरुले आफ्नाे लाइसेन्स लिन्छ कि, ब्लुबुक लिन्छ कि, दुःख दिन्छ कि, कारबाही पो गर्लान् कि भनेर पनि ट्राफिक प्रहरीका बारेमा गुनासाे गर्दैनन् । मोटरसाइकल चालक, प्राइभेट कारवालाहरुले चाहिँ ट्राफिक प्रहरीको व्यवहार भएन, मुख छाड्यो, झगडा गर्‍याे भनेर भन्नुुहुन्छ । तर अरु सार्वजनिक सवारी चलाउने, भाडाका ट्याक्सी, माइक्रोबस, बस चालकहरुले हत्तपत्त गुनासाे गर्नुहुन्न ।

म सबैलाई के अनुरोध गर्छु भने हामी ट्राफिक प्रहरीले प्राइभेट गाडीलाई मात्र सहयोग गर्ने होइन, सडक प्रयोग गर्ने तपाईँ सबै चालक, सहचालकलाई सहयाेग गर्छाैँ । त्यसैले सडक प्रयोग गर्ने कसैले पनि ट्राफिक प्रहरीबाट दुर्व्यवहार भोग्नुभएको छ या ट्राफिकले राम्रो व्यवहार गरेको छैन भने निर्धक्कका साथ १०३ मा फोन गर्नुहोस् ।  

– उज्यालो अनलाइनका लागि रोशन केसीसँगको कुराकानीमा आधारित 

अन्तिम अपडेट: चैत १२, २०८०

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया