बजारमा पाइने तयारी खानेकुराले बालबालिकामा विभिन्न राेग निम्त्याउँछन् : डाक्टर अरुणा उप्रेती

 भदौ २९, २०७६ आइतबार १२:३७:३८ | उज्यालो सहकर्मी

काठमाण्डाै - सानो उमेरका बालबालिकालाई बजारमा पाइने तयारी खानेकुरा खुवाउँदा मुटु सम्बन्धी तथा मधुमेहको समस्या हुने डाक्टरहरुले बताएका छन् ।

पत्रु खानेकुरा वा जंक फुड पनि भनिने बजारमा पाइने तयारी तथा प्याकेट पारिएका खानाले तत्काल स्वास्थ्यमा असर नगरे पनि केही समयपछि मुटुसम्बन्धी राेग तथा मधुमेहजस्ता गम्भीर खालका समस्या निम्त्याउने भएकाले सचेत रहनुपर्ने पोषणविद् डाक्टर अरुणा उप्रेतीले बताउनुभयो ।

डाक्टर अरुणा उप्रेती

चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुट, पिज्जा, बर्गर, मम, चाउमिनलगायत बजारमा पाइने तयारी खानामा रेसादार पदार्थ कम हुने र रेसादार पदार्थ कम भएको खानाले स्वास्थ्यमा गम्भीर असर पार्ने उहाँले बताउनुभयो ।

देख्दा आकर्षक भए पनि, चिल्लो, पिरो र मसला धेरै हुने, धेरै समय अघि बनेका हुने र गुणस्तरहीन खाद्य पदार्थ प्रयोग भएकाे हुनसक्ने भएकाले त्यस्ता खानेकुराले कब्जियतलगायतका समस्या निम्त्याउने उहाँको भनाइ छ ।

तयारी खानाबारे पर्याप्त जानकारीको अभावमा कतिपय अभिभावकले पनि सजिलोका लागि आफ्ना बालबालिकालाई यस्ता खानेकुरा  खुवाउने गरेको उहाँले बताउनुभयो । खान छिटो, स्वादिलो र तयारी अवस्थामा उपलब्ध हुने भएकाले पनि अभिभावक तथा बालबालिकाहरु यसप्रति बढी आकर्षित हुने गरेका डाक्टर उप्रेतीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया