घरायसी विवादमा छाेराले खुकुरी प्रहार गर्दा बाबु गम्भीर घाइते

 भदौ २९, २०७६ आइतबार १७:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – भोजपुर नगरपालिका–११ आम्तेकमा छोराले खुकुरी प्रहार गर्दा बाबु गम्भीर घाइते भएका छन् । 

स्थानीय २५ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु ‘रामकुमार’ भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

शनिबार साँझ ५ बजेतिर बाबु छोराबीच विवाद चर्किएपछि शिवहाङले बाबुलाई खुकरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट चन्द्रबहादुरको गर्दनमा गहिरो चोट लागेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पाण्डवराज राजवंशीले बताउनुभयो । 

गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 

घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले खोजतलासका क्रममा आइतबार बिहान साढे १० बजेतिर भोजपुर नगरपालिका–१० को भैसीपंखाको असिनेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया