मन्त्रीमाथि हुलहुज्जतपछि नेपालगञ्ज विमानस्थलकाे सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह

 भदौ २९, २०७६ आइतबार १९:५८:११ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको उडानका क्रममा शनिबार साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारको घटनाले विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न चिन्ह खडा गरेको छ ।

उडानको क्रममा रहेको जहाजमा मन्त्रीलाई अपशब्द प्रयोग गर्दै गरिएको भिडियो बनाएर तत्काल सामाजिक सञ्जालमा राखिएपछि विमानस्थलको सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा भएको हो । विमानमा प्रवेश गर्नसाथ मोबाइल स्विच अफ मात्रै नगरी सिट बेल्टसमेत बाँधेर बस्नुपर्छ । तर शनिबार ज्ञानेन्द्र शाही लगायतको समूहले मन्त्री भट्टराईको नजिकै गएर हुलहुज्जत गरेको पाइएको छ ।

नेपालगञ्ज नागरिक उड्ययन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले शनिबार मन्त्री भट्टराईमाथि भएको घटनामा संलग्न व्यक्तिहरु कारबाहीको भागीदार भएको बताउनुभयो । उहाँका अनुसार, नेपाल नागरिक उड्डयन ऐन, २०७३ को नागरिक उड्डयनको नियमन तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ‘वायुयानमा यात्रुबाट हुने अवाञ्छित व्यवहारजन्य कसूर’ को व्यवस्था गरिएको छ ।

त्यस व्यवस्थामा, ‘उडानमा रहेको वायुयानमा कुनै यात्रुले वायुयानमा सवार चालक दलका सदस्य वा अन्य यात्रुमाथि हातपात वा दुर्व्यवहार गरेमा वा वायुयानका यन्त्र, उपकरण वा सरसामानमा हानी नोक्सानी पुर्‍याउने कार्य गरेमा वा वायुयान भित्रको शान्ति सुव्यवस्थाका साथै उडान सुरक्षामा समेत खलल पुग्ने अन्य कुनै किसिमको कार्य गरेमा अवाञ्छित व्यवहार गरेको कसूर मानिनेछ र यस्तो कसुर गर्नेलाई दश हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

यसरी हुल हुज्जत गर्नेलाई अफलोड गर्न सकिने भए पनि चालकले टावरलाई कुनैपनि जानकारी नदिएको विमानस्थल कार्यालयले जनाएको छ ।  मन्त्री भट्टराइसँग भेटघाटका लागि नेकपा बाँकेका नेता अव्दुल हुसेन खाँ सहितको समूह पनि पुगेको थियो । उनीहरुलाई मन्त्री भट्टराईले टाढैबाट हात हल्लाएर विमानतर्फ जानुभएको थियो ।

नागरिक उड्ययन क्षेत्रका जानकार भोजराज शाहीले विमानभित्र देखिएको दृश्य अस्वभाविक भएको बताउनुभयो ।  जहाजभित्र हुलहुज्जत वा कसैलाई अपमान गर्न पाइँदैन, शाहीले भन्नुभयो,– विगतमा यसखालका गतिविधि गर्नेलाई  सुरक्षाकर्मीको सहयोगमा जहाजबाट निकालिएका धेरै घटना पनि छन् ।

प्रमुख ठाकुरले मन्त्री भट्टराईका कारण एक घण्टा जहाज उडान ढिलो भएको दावीमा कुनै सत्यता नभएको बताउनुभयो ।

मन्त्रीज्यूले आग्रह गरेपछि मैले नै विमान चालकसँग अनुरोध गरेर केही समय जहाज रोकिएको हो, प्रमुख ठाकुरले भन्नुभयो, मन्त्रीज्यूका कारणले बढीमा १५ मिनेटजति  ढिला भएको हो ।  शाहीसहितको समूहका कारण १० मिनेट जहाज उडानमा ढिलाइ भएको प्रमुख ठाकुरले बताउनुभयो ।  

बुद्ध एयरको  ४०६ जहाज शनिबार साँझ ६ बजेर ११ मिनेटमा नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो । सामान्यतया जहाज अवतरणपछि यात्रु झर्ने,उडानका लागि इन्धन भर्ने, सरसफाइ गर्ने, बोर्डिङ गर्ने कामका लागि ३५ मिनेटपछि अर्को उडान हुने गरेको छ ।

शाहीसहितका केही यात्रुले होहल्ला गरेर १० मिनेट ढिला भएपछि पनि जहाज ७ बजे उडान सुरु भएर ७ बजेर ६ मिनेटमा उडान भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले  प्रहरीका तर्फबाट सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी नभएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया