रेलको अन्यौल, विभाग भन्छ : ढुक्क हुनुहोस् मंसिरदेखि रेल गुड्छ

 भदौ ३०, २०७६ सोमबार १०:२४:१४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुर–जयनगर रेल चल्ने कुरा हुन थालेको धेरै भयो । तर रेल चल्छ कि चल्दैन, चल्यो भने कहिलेदेखि चल्छ भन्ने यकिन हुन नसक्दा आशाभन्दा बढी निराशा छाउन थालेको छ ।

‘रेल चल्ने कुरा हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखान जस्तै भयो । झण्डै डेढ वर्षदेखि यही कुरा सुनेर कान पाकिसक्यो । तर अझै रेल चलेन’ अटो रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरका जुगेश्वर साहले खिन्न मान्दै भन्नुभयो ।

जनकपुरधाम रेल्वे स्टेशनकै छेउमा खाजा पसल सञ्चालन गरेका बुधेश्वर मण्डल पनि डेढ वर्षदेखि कहिले रेल चल्ने र कहिले रेल नचल्ने कुरा सुनेर दिक्क हुनु भएको छ । ‘२०७५ असोजमै रेल चल्ने कुरा सुनेको थिएँ । पछि फेरि मंसिरमा रामजानकी विवाह पञ्चमीदेखि चल्ने कुरा आयो । तर अहिलेसम्म रेल आएन । अब चल्न थाल्यो भने मात्र विश्वास हुन्छ’ उहाँ भन्नुहुन्छ ‘सबै संरचना तयार छ, चाँडै चलेको भए राम्रै हुन्थ्यो, हाम्रो व्यापार फस्टाउँथ्यो ।’

उहाँको छेउमै कपडा सिलाउँदै गरेका मोहम्मद साविरको कुरा पनि यस्तै छ । ‘पहिला रेल चल्छ भन्ने कुरा सुनेपछि उत्साहित हुन्थे, तर अब सुनेपछि वास्तै गर्दिनँ । यहाँ त रेलसँग खेल हुँदैछ, आउँछ आउँछ भन्छ । तर आउँदैन’ उहाँले भन्नुभयो ।

जुगेश्वर, बुधेश्वर र साविर जस्तै यहाँका धेरै बासिन्दा रेलको झमेलाले निराश छन् । चल्ने तयारीमा रहेको नेपालको एक मात्र जनकपुर –जयनगर ब्रोडगेज रेल २०७५ असोज महिनादेखि नै सञ्चालन हुने कुरा थियो । त्यसपछि २०७५ को मंसिरदेखि चल्ने कुरा भयो । तर २०७६ को असोज आउन लाग्दासमेत रेल चल्ने छाँटकाँट देखिँदैन । 

भौतिक पूर्वाधार यातायात मन्त्री रघुवीर समहासेठ र रेल्वे विभागका कर्मचारीबाट नै रेल सञ्चालन हुने अधिकारिक कुरा पटक–पटक फेल भैसकेको छ ।

पहिलो चरणमा संचालन हुने भारत विहारको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलो मिटर हुने रेल्वे सञ्चालनको निम्ति भौतिक संरचना, रेल्वे लिकलगायत आवश्यक पूर्वाधार एक वर्षदेखि पूर्ण रुपमा तयार भइसकेको छ । तर रेल सञ्चालन गर्न चाहिने रेल इञ्जिन, आवश्यक जनशक्ति अहिलेसम्म नेपाल सरकारले तयार पार्न सकेको छैन । यसकारण रेल्वे सञ्चालनमा नआएको रेल्वे विभागका कर्मचारीहरु बताउँछन् ।

सुरुमा भारतसँगे इञ्जिन भाडामा लिएर रेल चलाउने चर्चा थियो । तर पछि नेपालले भारतसँग खरिद गरी आफ्नै इञ्जिन ल्याएर रेल सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढायो । जस अनुसार नेपालले रेल सेट किन्न रेल विभाग र भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडबीच सम्झौता भैसकेको छ । अहिले दुई सेट रेल भारतको मद्रास स्थित कोकण रेलवेज कर्पोरेसन कम्पनीमा बनिरहेको छ ।
 
ढुक्क हुुनुहोस्, मंसिरदेखि रेल गुड्छ : महानिर्देशक मिश्र

रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतीय रेल कम्पनी रेलवेज कर्पोरेसन लिमिटेडबीच भएको दुई सेट रेल किन्ने सम्झौता अनुसार निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘दुई सेट रेलको इञ्जिन बनिरहेको छ । अब रंगरोगनको काम मात्र बाँकी छ । केही दिनमै रेल पूर्ण रुपले तयार हुन्छ’ महानिर्देशक मिश्रले भन्नुभयो ।

विभागका अनुसार रेल सेवा सञ्चालन गर्न सुरुमा कम्तिमा दुई सय कर्मचारी चाहिन्छ । कर्मचारी भर्ना प्रक्रिया अघि बढिसकेको र रेलको इञ्जिन तयारी समेत अन्तिम चरणमा रहेकाले अबको केही महिनाभित्रै रेल सेवा सञ्चालन हुने महानिर्देशक मिश्रको भनाइ छ । उहाँले भन्नुभयो ‘अब ढिलो हुँदैन, ढुक्क हुनुस् । आउँदो नोभेम्बर २०१९ को अन्तिम अर्थात मंसिरको मध्यसम्म रेल चल्छ ।’

रेल्वेको नामाकरण ‘जानकी’ गरिएको विषयमा व्यापक चर्चा छ । तर यस विषयमा रेल्वे विभाग आफैँ अनभिज्ञ छ । विभागका महानिर्देशक मिश्रले नामबारे अहिलेसम्म कुनै औपचारिक निर्णय नभएको बताउँदै उहाँले हल्लाको पछाडि नलाग्न समेत आग्रह गर्नुभयो । 

वर्षाले बगाएको लिक धमाधम मर्मत हुँदै

रेल सञ्चालनको लागि पूर्ण तयारीमा रहेको रेल्वे लिक बाढीले भत्काएपछि मर्मत सम्भारको काम धमाधम भइरहेको छ । असारको पहिलो हप्ता अविरल वर्षासँगै आएको बाढीले जानकनन्दनी गाउँपालिका १ इनरवास्थित सीमावर्ती क्षेत्रमा झण्डै १ सय मिटर रेल्वे लिक बगाएर क्षति भएको थियो । अहिले मर्मत सम्भारको काम धमाधम भइरहेको र अवको केही दिनभित्रै काम सकिने विभागका महानिर्देशक मिश्रको भनाइ छ ।

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र  तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुनेछ ।

जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ । दोस्रो चरणमा सञ्चालन हुने जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ ।

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ । जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ ।

भारत सरकारको सहयोगमा निर्माण भइरहेको भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इर्कन इन्टरनेसनल कम्पनीले लिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया