सरकारलाई सूचना आयोगको आदेश : डेंगी रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाह गर

 भदौ ३०, २०७६ सोमबार १५:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

डेंगीका लक्षण र यसबाट बच्ने उपाय

काठमाण्डाै - राष्ट्रिय सूचना आयोगले देशभित्र फैलिँदो डेंगी रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ ।

राष्ट्रिय सूचना आयोगले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी डेंगी रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

डेंगी रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायहरुबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुने गरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिइएको आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जानकारी दिनुभयो ।

आयोगले आइतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरुको टोलीसँग परामर्श गरेपछि त्यस रोगबाट बच्न आम नागरिकलाई आवश्यक सूचना प्रवाह गर्न सरकारको नाममा आदेश दिएको हो । आयोगको आदेशमा  संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाहरुबाट पनि त्याे रोगबाट बच्ने उपायसहितको सूचना आम नागरिकलाई प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन भनिएको छ ।

आयोगले डेंगी रोगबाट बच्ने उपायबारे आमसञ्चार माध्यमबाट पनि सूचना प्रवाह गर्न सरकारलाई सचेत गराएको छ । सूचनाको अभावमा डेंगी रोगबाट मानिसहरुको ज्यान जाने, सही सूचनाको अभावमा आतंकित हुनुपर्ने अवस्था नआओस् भनेर सरकारलाई त्यसबारे सही सूचना जनतालाई उपलब्ध गराउन आदेश दिनु परेको प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जानकारी दिनु भयो ।

देशमा ८ हजारभन्दा बढी डेंगी रोगको बिरामी भेटिएको छ भने ७० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । ६ जनाको ज्यान लिइसकेको डेंगी रोग नियन्त्रणका लागि आवश्यक कदम चालिएको सरकारको दाबी छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया