अंगीकृत नागरिकता सम्बन्धमा कांग्रेसले लिएकाे अडान आपत्तिजनक छ : नेता रावल

 भदौ ३०, २०७६ सोमबार १८:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लिएको अडानप्रति आपत्ति जनाउनुभएको छ ।

नेता रावलले संविधान विपरीत नेपाली कांग्रेसले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसले अडान लिएको दाबी गर्दै आपत्ति जनाउनुभएको हो । सोमबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विधेयकबारे नेपाली कांग्रेसले लिएको अडान संविधान विपरीत भएकाले त्यसलाई तत्काल पारित गर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई दबाब दिनुभयो । 

समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता दिन नेपाल नागरिकता ऐन २०६३ कै व्यवस्थालाई निरन्तरता दिनुपर्ने काग्रेसको फरक मत छ । कांग्रेसको यो मत संविधान विपरीत रहेकाले मान्य नहुने सत्तारुढ नेकपा नेता रावलको तर्क छ ।

नेता रावलले शीर्ष तहमा छलफल गरेर संविधान बनेकाले नागरिकताका सम्बन्धमा फेरि शीर्ष तहका राजनीतिक सहमति जुटाउने बहाना बनाएर नेपाली कांग्रेसले मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको दाबी गर्नुभयो ।

नेता रावलले विगतमा पनि नेपालको राष्ट्रिय हितविपरीत विदेशीलाई नेपाली नागरिकता दिएको उल्लेख गर्दै त्यसलाई छानबिन गरेर विदेशी नागरिकले लिएका नेपाली नागरिकता सबै खारेज गर्न पनि सरकारसँग माग गर्नुभयो । त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेता रावलको भनाइ छ ।

नेता रावलले विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएर नेपालको राष्ट्रियतालाई कमजोर बनाउन नदिन सबै राजनीतिक दल तथा नागरिक समुदायलाई पनि सचेत गराउनु भयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया