युरोपियन च्याम्पियन्स लिग : लिभरपुलकाे पहिलाे चुनाैती नापाेलीसँग

 भदौ ३१, २०७६ मंगलबार ९:२४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा मंगलबार लिभरपुलले इटालीयन क्लब नापोलीसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेतासमेत रहेको लिभरपुल उपाधि रक्षा अभियानलाई सकारात्मक रुपमा सुरुवात गर्न चाहन्छ ।

यो सिजनको प्रिमियर लिगमा सतप्रतिशत नजिता निकाल्न सफल टिम लिभरपुल समूह ई मा नापोली‍विरुद्ध उत्कृष्ट नजिताको अपेक्षामा रहेको छ । खेल राति पौने एक बजेबाट सुरु हुने छ । खेल अगाडि प्रशिक्षक जुर्गेन क्लोपले लिभरपुल च्याम्पियन्स लिगको उपाधिका लागि हकदार रहेको बताएका छन् । 

गएको सिजन पनि नापोली लिभरपुलको समूहमा रहेको थियो । जसमा नापोलीले एक–शून्यको जित निकालेको थियो । 

मंगलबारको खेलमा लिभरपुलका डिभोक ओरिगी उपस्थित नहुने भएका छन् । गएको सिजन फाइनलमा टोटनह्यामलाई हराउँदा उनले एक गोल गरेका थिए । उनको स्थानमा युवा खेलाडी रहिम ब्रेवेस्टरले इटाली यात्रा गर्नेछन् । यस्तै डिफेन्डर एन्डी रोबर्टसन पनि मंगलबारको खेलमा टिममा हुने संभावना न्यून रहेको छ । उनी फिट भए पनि खेल्नका लागि तयार नरहेको बताइएको छ ।

यस्तै, लिभरपुलका मिडफिल्डर नावी केइटा र गोलकिपर एलिसोन चोटका कारण आज खेल्ने छैनन् । यी दुई टिम पछिल्लो पटक ६ खेलमा एक अर्काविरुद्ध खेल्दा लिभरपुलले तीन खेलमा जित निकालेको छ भने नापोलीले दुई खेलमा जित र एक खेल बराबरी खेलेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया