बढ्यो शान्ति मिसनमा खटिने नेपाली सेनाको भत्ता

 भदौ ३१, २०७६ मंगलबार १३:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली सेनाले शान्ति सेनामा खटिएका सिपाहीको भत्ता वृद्धि गरेको छ । शान्ति मिशनमा खटिएको अवधिमा प्राप्त गर्ने दैनिक भत्ता बढाएर मासिक ८५ अमेरिकी डलर वृद्धि गरिएको नेपाली सेनाले जनाएको छ ।

भत्ता बढेसँगै अब शान्ति मिसनमा खटिने तल्लो दर्जाका सिपाहीले प्रतिमहिना १ हजार १ सय ४० अमेरिकी डलर पाउने छन् । यसरी वृद्धि गरिएको रकम भने मिसनमा खटिएका सिपाहीले यही महिनाबाट भने पाउने छैनन् । वृद्धि भएको भत्ता अक्टोबर १ देखि लागू हुने जङ्गी अड्डाले जनाएको छ ।

प्रधानसेनापतिको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले तल्लो दर्जा सिपाहीले खाइपाइ आएको १ हजार २९ अमेरिकी डलरमा ८० डलर वृद्धि गरेर १ हजार १ सय १४ पुर्याउने निर्णय गरेको हो ।

त्यस्तै गण कमाण्ड गर्ने गणपति प्रमुख सेनानीको समेत हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १३७८ मा अमेरिकी डलर २१ थप गरी प्रतिमहिना अमेरिकी डलर १३९९ कायम गरिएको छ ।

मिसनमा खटिने सिपाहीको ८० डलर मात्रै वृद्धि गर्दा पनि सैनिक कल्याणकारी कोषलाई वार्षिक ४६ करोड ३० लाख व्ययभार पर्न जाने पनि नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ ।

तल्लो तहका सिपाहीको हौसला र उनीहरुलाई लाभान्वित गराउन भत्ता बढाइएको पनि उसले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया