लुक्ला विमानस्थलमा तीन सयभन्दा धेरै पर्यटक अलपत्र

 भदौ ३१, २०७६ मंगलबार १५:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु - सोलुखुम्बुको चौँरीखर्कबाट पर्यटक लिएर काठमाण्डौ आउँदै गरेका १० वटा हेलिकप्टरमध्ये आठ वटा हेलिकोप्टर अझै बाटोमै रोकिएका छन् ।

बिहान केहीबेर मौसम सफा हुँदा चौँरीखर्कको सुर्के पुगेर फर्किएका १० वटा हेलिकप्टर मौसम खराबीका कारण विभिन्न ठाउँमा अवतरण गराइएका थिए । बाटोमा अवतरण गरिएकामध्ये दुईवटा हेलिकप्टर काठमाण्डौ आइपुगेका त्रिभुवन विमानस्थलले जनाएको छ ।

मौसम खराब हुँदा गएको शनिबारदेखि लुक्लामा उडान हुन सकेको छैन । लुक्लामा रोकिएका पर्यटक लिन साेमबार गएका आठ वटा हेलिकोप्टर मौसमका कारण ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमै रोकिएका थिए ।

मंगलबार बिहान केही बेर मौसम सफा भएको बेला लुक्लाभन्दा केही तल सुर्केबाट पर्यटक लिएर फर्कँदै गर्दा मौसमका कारण हेलिकप्टर काठमाण्डाै आइपुग्न नसेकका हुन् । अहिले सोलुखुम्बुको खरिखोलामा एक, सोलुखुम्बुकै बासामा दुई, काभ्रेको पाँचखालमा दुई, धुलिखेलमा एक रोशीखोलामा एक र रामेछापमा एउटा हेलिकप्टर रोकिएका छन् । 

लुक्ला विमानस्थलमा उडान हुन नसक्दा लुक्लामा अहिले तीन सयभन्दा धेरै पर्यटक रोकिएका व्यवसायीहरुले बताएका छन् । मंगलबार मात्रै लुक्ला विमानस्थलमा ३० वटा उडान हुने तालिका रहेकोमा एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थलका प्रमुख ईमनाथ अधिकारीले जानकारी दिनुभयो । 

सोलुखुम्बुको खुम्बु क्षेत्रमा सडक यातायातको व्यवस्था नहुँदा मौसममा खराबी आउँदा पर्यटकहरु अलपत्र पर्ने गरेका छन् । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया