३ दिनदेखि प्रसव पीडामा रहेकी रामदेवीको हेलिकप्टरबाट उद्धार

 भदौ ३१, २०७६ मंगलबार १९:१७:४१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – तीन दिनदेखि प्रसव पीडामा रहेकी साईपाल गााउँपालिका–१ की रामदेवी बोहराको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

गएको आइतबारदेखि सुत्केरी हुन नसक्दा उहाँको पेटमा भएको शिशु भने मृत अवस्थामा जन्मिएको छ । समयमा नै उपचार नपाएका कारण उहाँको गर्भमा भएको शिशु मृत अवस्थामा जन्मिएको उपचारमा संलग्न स्वाथ्यकर्मीहरुले बताएका छन् । 

बझाङकै दुर्गम, सडक सञ्जालसमेत नजोडिएको साईपाल गाँउपालिका–१ की २२ वर्षीया रामदेवी बोहरा तीन दिनदेखि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत् जिल्ला अस्पताल बझाङ ल्याइएको जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. सन्दीप ओखेडाले बताउनुभयो ।

आइतबार सुत्केरी व्यथा लागेर नजिकै रहेको सामुदायिक स्वास्थ्य इकाइ केन्द्रमा पुग्नुभएकी बोहराले समयमा नै उपचार नपाउँदा गर्भमा रहेको शिशु मृत अवस्थामा जन्मिएको हो ।

स्वास्थ्य इकाइ केन्द्रले दुई दिनअघि नै जिल्ला अस्पताल लैजानका लागि रिफर गरेको भए पनि साईपाल गाँउपालिकाबाट ४/५ दिनको पैदल यात्रापछि मात्रै सदरमुकाम पुगिने भएका कारण समस्या आएको स्थानीय वसन्तबहादुर बोहराले भन्नुभयो ।

लामो र अप्ठ्यारो बाटो भएका कारण आमा र गर्भमा रहेको बच्चा दुवैको ज्यान खतरामा पर्ने भएका कारण उहाँलाई पैदलमार्फत सदरमुकाम लैजान नसकिएको बताइएकाे छ । 

मंगलबार शिशु र आमाको ज्यान नै जोखिम रहेको जानकारी पाएपछि तत्कालै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको साईपाल गाँउपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया