उच्च अदालत दिपायलद्वारा नयाँ दररेट बदर

 भदौ ३१, २०७६ मंगलबार १९:४:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी - जिल्ला दररेट निर्धारण समिति डोटीले चालु आर्थिक वर्षका लागि तोकेको नयाँ दररेट उच्च अदालत दिपायल राजपुरले बदर गरेको छ ।

दररेट निर्धारण समितिले निर्धारण गरेको दररेटविरुद्ध परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालत दिपायलले बदर गर्ने निर्णय गरेको हो । मेशिन प्रयोग गरी सडक निर्माण गर्दा सडक विभागले तोकेकोभन्दा दोब्बर बढी कायम गरिएको दररेट कार्यान्वयन नगर्न नगराउन भन्दै उच्च अदालतले आदेश दिएको हाे ।

उच्च अदालत दिपायल राजपुरका न्यायधीशद्वय थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलासले रिट निवेदनमाथि सुनवाइ गर्दै आदेश दिएको रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रणबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ दररेट कायम नगराउनु भन्ने आदेश भएको छ,यो खुसिको कुरो हो ।’

जिल्ला दररेट निर्धारण समिति डोटीले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको दररेट सडक विभागले तोकेको भन्दा दोब्बर बढी भएको र यसले भ्रष्टाचारलाई प्रोत्साहन गर्ने भन्दै बदरको माग गर्दै जोरायल गाउँपालिका-२, का वडासदस्य महेन्द्र थापाले उच्च अदालत दिपायलमा रिट निवेदन दर्ता गराउनु भएको थियो ।

जिल्ला दररेट निर्धारण समितिले मेसिन (हाइड्रोलिक एक्स्काभेटर) प्रयोग गरी सडक निर्माण गर्दा प्रति घनमिटर १५० र प्रतिघण्टा ९ हजार ७५० रुपैयाँ कायम गरिएकोमा अदालतले बदर गर्दै सडक विभागले तोकेकै दररेट कायम गर्न आदेश दिएको अधिवक्ता सिंहले जानकारी दिनुभयो ।

सडक विभागले प्रति घनमिटर ६९ रुपैया ५८ पैसा र प्रतिघण्टा तीन हजार ५७० रुपैया दररेट कायम गरेको छ । सडक विभागले निर्धारण गरेको दररेट कायम हुँदा गुणस्तरीय काम हुने र अनावश्यक खर्च कटौती भइ भ्रष्टाचारमा कमी आउने रिट निवेदक थापाले दावी गर्नुभयो ।

गएकाे असार ३१ गते बसेको जिल्ला दररेट निर्धारण समिति डोटीको बैठकले ‘मेसिन प्रयोगगरी सडक निर्माण गर्दा सबै प्रकारका माटो खन्ने काम प्रति घनमिटर १५० रुपैयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया