सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट

 असोज १, २०७६ बुधबार १६:३६:४३ | रासस

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ ।

नेपाल शिक्षक महासङ्घले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको हो  । 

'विद्यालय शिक्षकले बिहान १० देखि ४ बजेसम्म अध्यापन गराउनुहुन्छ तर उचित पारिश्रमिक पाउन सक्नुभएको छैन', मन्त्री विष्टले भन्नुभयो, 'अब यो अवस्था रहँदैन, सरकाले न्यूनतम ज्यालाको प्रत्याभूति गराउँछ, न्यूनतम पारिश्रमिक प्राप्त गर्न नकसेकाका केही शिक्षक र विद्यालयका कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन मन्त्रिपरिषद्मा छलफल भइरहेको छ ।'

अझै पनि सामुदायिक विद्यालयमा कार्यरत केही शिक्षक तथा  कर्मचारीले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक प्राप्त गर्न सकेका छैनन् । उनीहरुले मासिक दुई हजार रुपैयाँदेखि काम गर्दै आइरहेको गुनासो आएकाले  सामाजिक सुरक्षा र न्यूनतम् पारिश्रमिक पाउनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै मन्त्री विष्टले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका प्रावधान कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दिगो विकास लक्ष्य हासिल गर्न शिक्षाको गुणस्तरमा व्यापक सुधार आवश्यक छ भन्दै उहाँले देशको समग्र विकासमा शिक्षकको ठूलो भूमिका रहेको बताउनुभयो । महासङ्घका अध्यक्ष बाबुराम थापाले नेपालको राजनीतिक आन्दोलनमा शिक्षकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शिक्षक तथा कर्मचारीमाथि कुनै प्रकारको शोषण हुन नहुनेमा जोड दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया