बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दाेलित : चितवन मेडिकल कलेजमा १६ दिनदेखि पढाइ ठप्प

 असोज १, २०७६ बुधबार १८:५६:८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन मेडिकल कलेज(सीएमसी)मा विभिन्न माग राखी विद्यार्थीहरु आन्दोलनमा रहेका छन् । चिकित्सा शिक्षामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु १६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । पठनपाठन ठप्प भएको छ ।

भर्ना शुल्क सरकारले तोकेअनुसार हुनुपर्ने मुख्य माग विद्यार्थीले राखेका छन् । विद्यार्थीले कलेजमा बुझाएको ज्ञापनपत्रअनुसार डेन्टल साइन्सको हकमा ७ वटा र चिकित्सा शिक्षा अध्ययन सम्बन्धमा ६ वटा माग पेस गरेका छन् । छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थीसँग कुनै पनि शुल्क लिन नहुने माग उनीहरुको छ ।

सरकारले तोकेको भन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम कलेजले लिने गरेको विद्यार्थीहरुले बताउँदै आएका छन् । यसरी लिएको रकम तत्काल फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ ।

कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नु परेको चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले बताउनुभयो । विद्यार्थीहरुको जायज मागप्रति कलेज प्रशासन मौन रहेको बताउँदै उहाँले शुल्क नघटेसम्म आन्दोलन जारी रहने जानकारी दिनुभयो ।

विद्यार्थीले आन्दोलन गरिरहँदा कलेजले विद्यार्थीको माग सम्बोधनका विषयमा सबै माग कलेजसँग मात्र सम्बन्धित नभएको बताएको छ । विद्यार्थीले राखेका धेरै माग सरकार र सरकारका अन्य निकायसँग सम्बन्धित रहेको विज्ञप्तिमार्फत बताएको छ ।

आन्दोलनका नाममा अस्पताल सञ्चालकलाई धम्की दिने र अस्पतालको सेवामा अवरोध गर्ने काम गैरकानुनी भएको अस्पतालले बताएको छ । विद्यार्थीको जायज माग सम्बोधन गर्न तयार भएको बताए पनि विद्यार्थीको मुख्य माग बढी लिएको भनिएको शुल्क फिर्ता गर्न कलेज प्रशासन तयार देखिएको छैन ।

अस्पतालका सञ्चालक डाक्टर हरिश न्यौपानेले सरकारले तोकेको भन्दा बढी रकम नलिएको बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख रुपैयाँ तोकेको छ । तोकिएको शुल्क ४२ लाख शिक्षण शुल्क भएको र अन्य परीक्षालगायतका केही शुल्क परदर्शी रुपमै आफूले लिएको उहाँ बताउनुहुन्छ ।

आईओएमलाई जानकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी ६ लाख रुपैयाँ मात्र अतिरिक्त शुल्क लिइएको उहाँले बताउनुभएको छ । सम्बन्धित निकायले दिएको निर्देशन मान्न आफू तयार भए पनि अहिले विद्यार्थीहरुले आन्दोलन छाडेर पठनपाठनलाई सहज बनाउनुपर्ने उहाँले बताउनुभएको छ ।

शूल्क सम्बन्धित विवादका सम्बन्धमा सरकारद्वारा गठित संसदीय उपसमितिले बुझाएको प्रतिवेदन, त्रिभुवन विश्वविद्यालय, शिक्षामन्त्रालयबाट निर्देशन भई आएका र आउने नीति नियमको पूर्ण पालना गर्न चितवन मेडिकल कलेज प्रशासन सदैव तयार रहेको समेत प्रतिबद्ध रहेको कलेजद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया