नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको नेता नेपालको दाबी

 असोज २, २०७६ बिहिबार १२:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको दाबी गर्नु भएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली नागरिकको हितलाई केन्द्र भागमा राखेर नेपाली नागरिक आफैँले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गर्नुभयो । संविधान दिवसको अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको पनि स्पष्ट पार्नुभयो ।

नेता नेपालले भन्नुभयो ‘अनेक कुराहरू आए पनि हामीले हाम्रो संविधान जारी गर्ने कार्यलाई सफल बनाइछाड्यौँ । आफ्नो संविधान आफैँ बनाउन सक्ने उदाहरण प्रस्तुत गर्‍याैँ । यो संविधान आफैँमा अनुपम दस्तावेज हो । विश्वका कुनै पनि संविधानभन्दा कमाजोर छैन । यसको कार्यान्वयनमा सबैको भूमिका आवश्यक छ । केहीले सुविधैसुविधा लिएर अरुलाई पाखा पार्ने स्थिति भएमा असन्तुष्टि हुनसक्छ ।’

संविधानमा व्यवस्था भए बमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्ने/नसक्ने बहसको विषय भए पनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ ।

वरिष्ठ नेता नेपालले देश समृद्ध बनाउने संकल्पसहित आएको नेपालको संविधानलाई इमान्दारिताकासाथ कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो । उहाँले संविधान सभाबाट संविधान जारी गरेर नेपालले विश्वमै गर्व गर्न लायक काम गरेको पनि स्मरण गराउनुभयो । वरिष्ठ नेता नेपालले बालबालिका भोलिका भविष्यका कर्णधार भएकाले उनीहरुको शिक्षा, दीक्षाको उचित व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

उहाँले देश गरिब भएकाले संविधानमा उल्लेख गरिए बमोजिम नागरिकलाई तत्काल सेवा, सुविधा दिने अवस्था नरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया