आत्महत्या दुरुत्साहन मुद्दामा श्रीमानलाई ६ महिना कैद सजाय

 असोज २, २०७६ बिहिबार १५:५२:४३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – आत्महत्या दुरुत्साहनको मुद्दामा जिल्ला अदालत चितवनले एक जनालाई ६ महिना कैद सजाय ताेकेकाे छ । मुद्दा फैसला भएको घटनामा अदालतले मुख्य प्रमाणका रुपमा मृतक युवती र उनका श्रीमानबीच मोबाइलमार्फत भएका कुरालाई प्रमाणको रुपमा लिएको छ ।

२०७५ फागुन १३ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर–२, मा एक युवतीले आत्महत्या गरेकी थिइन् । छोरीको आत्महत्या नभई आत्महत्या गर्न प्रेरित गरेको भन्दै माइती पक्षकी आमा दुर्गादेवी थापा बस्नेतले प्रहरीमा जाहेरी दिनुभएको थियो । 

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मुद्दामा एक आरोपितलाई ६ महिना कैद र अन्य तीन आरोपितलाई सफाइ दिएको छ । मुद्दा परेको ६ महिनापछि अदालतले यस मुद्दाको टुंगो लगाएको हो । यस घटनामा मृतकले कुनै सुसाइड नोट समेत नबनाएको अदालतले जनाएको छ ।

२०७५ असारमा सन्जोग गिरी र विविता बस्नेतको भागी विवाह भएको थियो । बिहेपछि भदौमा सन्जोग रोजगारीका लागि दुबई गएका थिए । छोराबुहारीबीच फोनमा सन्देश, भिडियो संवाद हुने गरेको बुबा गोपाल गिरीले बताउनु भएको छ ।बिहेको केही समयपछि उनीहरुबीच झगडा सुरू भयो । विदेशमा रहेका श्रीमान् र विविताबीचको फोनको झगडाले गर्दा विविताले फागुन १३ गते घरमा झुन्डिएर आत्महत्या गरिन् । 

अनुसन्धानको क्रममा श्रीमान–श्रीमतीबीच भएको भिडियो र सन्देश आदानप्रदान प्रमाणका रुपमा लिइएको छ । दुवै जनाबीच सम्बन्ध नै टुंग्याउनेसम्मको झगडा भएको र आफ्नो परिवारले नस्वीकार्ने भन्दै श्रीमानले विदेशबाट भनेको पाइएको बताइएको छ ।

आत्महत्याका लागि प्रेरित गरेको मुख्य आरोपित रहेका सन्जोग गिरीविरूद्ध ६ महिना कैद, १ लाख क्षतिपूर्ति भराउने र ५ हजार जरिबाना गराउने फैसला भएको हो । आरोपित सासू, ससुरा र देवरको हकमा भने सफाइ हुने गरी फैसला भएको चितवन अदालतका श्रेस्तेदार रूद्रमणि गिरीले जानकारी दिनुभएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख छ । दफा १८५ को उपदफा १ मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भन्ने कानुनी प्रावधान रहेको छ । यदि कसैले आत्महत्या दुरुत्साहन गराएमा उपदफा २ मा व्यवस्था गरिएबमोजिम ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया