संघीय संसदकाे चौथो अधिवेशन अन्त्य

 असोज २, २०७६ बिहिबार १९:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसदको चालु अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ ।

प्रतिनिधि सभाको बिहीबारको तेश्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख कृष्णबहादुर महराले बिहीबार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने घोषणा गर्नुभएको हो ।  

संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को भदौ ३१ गतेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चौथो अधिवेशन अन्त्य गर्नुभएको हो ।

गएकाे वैशाख १६ गते सुरु भएको यस अघिवेशनमा प्रतिनिधिसभा १ सय ४४ दिन चालु रहेकोमा ६० दिनमा ६५ वटा बैठक बसेका छन् । अधिवेशनमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक २ पटक बसेको थियो । यस अघिवेशनले सरकारको नीति तथा कार्यक्रमको साथै चालु आर्थिक वर्षको बजेट छलफलपछि पास गरेको थियो ।

अधिवेशनमा संघीय संसदबाट जम्मा १८ वटा विधेयकहरु पारित भएका छन् । यस अधिवेशन अवधिभर प्रतिनिधि सभामा जम्मा १७ वटा सरकारी विधेयक दर्ता भएकोमा ७ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भइसकेको छ । त्यसैगरी ५ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छ भने ४ वटा विधेयक सम्बन्धित समितिहरुमा विचाराधीन छन् ।  

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको छ । संघीय संसदको दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका विभिन्न १९ वटा विधेयकमध्ये ८ वटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने ६ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको छ भने ३ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छ । “राहदानी विधेयक, २०७५” संघीय संसदको दुवै सदनबाट संशोधनसहित पारित भएको छ । त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाको दोस्रो, तेस्रो र यस अधिवेशनमा प्राप्त भएको विभिन्न ७ वटा विधेयकहरुमध्ये २ वटा विधेयक सभाबाट पारित भइसकेको छ भने ५ वटा विधेयकहरु सम्बन्धित समितिमा विचाराधीन रहेको छ ।

अधिवेशनको अन्तिम बैठकमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालयसँग सम्बन्धित सांसदहरुको मौखिक प्रश्नको उत्तरहरु टेबुल गर्नुभएको थियो ।

त्यसैगरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय चक्रपाणि खनाल र  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको उत्तर टेबुल गर्नुभएको थियो ।

साथै सभामुख महराले लगातार १० वटा बैठकमा अनुपस्थित भएका सांसदहरुको नाम पढेर सुनाउनुभएको थियो ।

त्यस्तै सङ्घीय संसद्, राष्ट्रियसभाको चौथो अधिवेशन पनि बिहीबारदेखि अन्त्य भएको छ । गएकाे वैशाख १६ गते प्रारम्भ भएको यस अधिवेशनमा राष्ट्रियसभाका ४७ दिनमा ५१ वटा बैठक बसेका थिए । 

सभाले यस अधिवेशन अवधिमा १९ वटा विधेयकहरू पारित गरेकोे छ । यसैगरी दुई वटा सार्वजनिक महत्वका प्रस्ताव दर्ता भई छलफल भएको थियो भने यस अवधिमा तीन वटा ध्यानाकर्षणसम्बन्धी प्रस्ताव दर्ता भई छलफल गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया