आज पनि मौसम पूर्ण रुपमा नखुल्ने,  लगातारको वर्षाले बिहान बेलुकी चिसो बढ्यो

 असोज ३, २०७६ शुक्रबार ८:२२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार दिउँसोदेखि मौसममा केही सुधार आए पनि शुक्रबार बिहानैदेखि मौसम बदली भइरहेको छ । शुक्रबार पनि देशभरीकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्हरुको अनुमान छ ।

शुक्रबार थोरै ठाउँमा मात्र पानी परे पनि देशभरीकै मौसम एकैछिन खुल्ने र फेरि बदली भइहाल्ने मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

शुक्रबार दिनभरजसो नै मौसम आंशिकदेखि सामान्य बदली भइरहने र देशका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार पानी परेपछि बिहानबेलुकी चिसो बढेको छ । देशभरी कै तापक्रम ४ देखि झण्डै १० डिग्री सेल्सियससम्म घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार २८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको अधिकतम तापक्रम बिहीबार ८ डिग्री घटेर २० दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ ।

यस्तै, सोमबार २५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको बिहीबारको तापक्रम १० डिग्री घटेर १५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । जुम्लाको बिहीबारको न्यूनतम तापक्रम नै ११ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । लगातार पानी परेकाले देशभरी नै चिसो बढेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया