पलाँताका चार गाउँलाई नमुना बस्ती बनाइँदै

 असोज ३, २०७६ शुक्रबार १७:१:६ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - सरकारले पलाँताका चार गाउँलाइ आर्थिक वर्ष २०७६/०७७ मा नमुना बस्ती बनाउने तयारी थालेको छ ।

गाउँकार्यपालिका बैठकले नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले पलाँता-२, लार्फको दलित बस्ती, वडा नम्बर २ को बान्जडा, वडा नम्बर ५ को गोठालीचौर र वडा नम्बर ९ को माथिल्लो दलितटोललाई नमुना बस्ती बनाउने निर्णय गरेको हो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, रोजगारीलगायतका सेवामा पहुँच भएपछि नमुना बस्ती घोषणा गर्ने तयारी भइरहेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छाले बताउनुभयो । नमुना बस्ती निर्माणका लागि कार्यविधि बनाउने काम भइरहेको छ । कार्यविधिमा के–के सेवा सुविधाहरु पूरा भएपछि नमुना बस्ती घोषणा गर्ने भन्ने कुराहरु उल्लेख गरिने पलाँताका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनु भयो ।

गोठालीचौरमा के-के पूर्वाधार तयार भए ?

जनता आवास कार्यक्रमबाट गोठालीचौरका ३२ घरधुरी निर्माण भएका छन् । घरधनी आफैँले शौचालय निर्माण गरेर प्रयोग गर्न थालेका छन् । स्वास्थ्य सेवाका लागि जनस्वास्थ्य सेवाकेन्द्र बनाउने तयारी भइरहेको छ । कक्षा ५ सम्मको विद्यालय सञ्चालनमा छ ।

जाँफे फागोटी थिर्पु चक्रपथले गोठालीचौरको बस्तीलाइ छुनेछ । साना सिँचाइ आयोजना अन्तरगत त्यहाँ सिँचाइ पुग्ने भएको छ । औलाखालो लघु जलविद्युत आयोजनाबाट विद्युत सेवा पुगिसकेको छ । गाउँपालिकाले एक घर एक धारा कार्यक्रम अन्तर्गत यसै वर्ष सबै घरधुरीमा खानेपानीको सुविधा पुर्‍याउने लक्ष्य लिएको वडा नम्बर ५ का अध्यक्ष बिरबहादुर बमले बताउनु भयो ।

बान्जडामा के हुदैछ ?

गाउँपालिका मार्फत १ सय १ घरधुरीमा शौचालय निर्माण तथा एक घर एक धारा निर्माण कार्यकाे सुरुवात भएको छ । विश्व खाद्य संगठनले सिँचाइ र पलाँता कृषि शाखाले एक घर एक बगैँचा कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

दुर्सिखोला लघु जलविद्युत आयोजनाबाट त्यहाँका घरधुरीमा बत्ती पुर्‍याइएको छ । यसै वर्ष वडा नम्बर २ को बान्जडा बस्ती र लार्फ बस्तीलाई नमुना बस्ती घोषणा गर्ने तयारी भइरहेको वडाध्यक्ष बिद्धि विकले बताउनु भयो ।

माथिल्लो दलित बस्ती कसरी हुदैछ नमुना ?

गाउँपालिकाले गएकाे वर्ष ८२ घरधुरीमा शौचालय निर्माण गरेको थियाे । अध्यक्ष कोषबाट त्यहाँका प्रत्येक घरधुरीलाइ साैर्य बत्ती वितरण गरिएको छ । यसै वर्ष गाउँपालिकाको एक घर एक धारा कार्यक्रम अन्तरगत वाटर एड र किर्डार्क नेपालसँगको साझेदारीमा खानेपानी घर घरमा पुग्ने बताइएकाे छ ।

गाउँपालिकाले सुधारिएको चुलो वितरण गर्न थालेको छ । दुर्सिखोला लघु जलविद्युत आयोजनाबाट त्यहाँका सबै घरधुरीमा बत्ती पुर्‍याउने तयारी भइरहेको वडा नम्बर ९ का अध्यक्ष टक्कबहादुर बमले बताउनु भयो । 

लार्फमा के गर्दैछ प्रदेश सरकार ?

नमुना बस्ती विकासका लागि प्रदेश सरकारले छनोट गरेको पलाँता-२ को लार्फ गाउँमा अहिलेसम्म कुनै पनि काम अघि बढेको छैन । १ सय ५० घरधुरी रहेको लार्फ दलित समुदायको बस्ती  हो । वडा नम्बर-२ का अध्यक्ष बिद्धि विक लार्फ गाउँकै बासिन्दा भए पनि अहिलेसम्म याेजना अनुसारकाे काम अघि बढ्न सकेकाे छैन । 

अन्तिम अपडेट: चैत १५, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया