संविधान दिवस : प्रदेश २ मा कतै कालो, कतै उज्यालो (फोटो फिचर)

 असोज ३, २०७६ शुक्रबार १८:९:३३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - संविधान दिवसको अवसरमा शुक्रबार देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर तराई मधेसमा भने संविधानको विरोध र दिवसमा छुट्टा छुट्टै कार्यक्रम भएका छन् । शुक्रबार तराई मधेशमा कालो-उज्यालो दुवै दिन मनाइँदै छ ।

प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र विभिन्न संघसंस्थाले कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । प्रदेश सरकारका कर्मचारी, केही जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायतले जनकपुरमा प्रभात फेरी कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।

जानकी मंन्दिरको प्राङ्गणबाट मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव शंकर सुवेदीको अग्रसरतामा बाजागाजासहितको प्रभातफेरि विभिन्न भागको परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर झण्डोतोलन गरी सम्पन्न भएको छ । तर त्यसमा प्रदेश सरकारका कुनै पनि मन्त्रीहरुले भने सहभागिता जनाएनन् ।

यस्तै प्रदेश २ को महोत्तरीको बर्दिबास नगरपालिका, सर्लाहीको कविलासी नगरपालिका लगायत थुप्रै पालिकाहरुले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।

मधेस आन्दोलनको संघारमा भएको संविधान घोषणादेखि नै असन्तुष्ट मधेशवादी दल समाजवादी पार्टी भने तटस्थ बसेकाे छ । तर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले भने प्रदेश २ को सबै जिल्लाको सदरमुकाम र शहरहरुमा विभिन्न विरोधको कार्यक्रम गरी कालो दिन मनाइरहेकाे छ ।

उसले प्रदेश २ को अस्थायी राजधानी जनकपुर, पर्साको सदरमुकाम वीरगञ्ज, बाराको कलैया, रौतहटको गौर, सर्लाहीको मलंगवा, महोत्तरीको जलेश्वर, सिरहा, सप्तरीको राजविराजलगायतको शहरहरुमा विराेध प्रदर्शन गरेकाे छ ।

विराेध प्रदर्शनमा प्रदेश २ सरकारमा सहभागि राजपा नेपालका मन्त्री र राज्यमन्त्रीका साथै सांसद, जनप्रतिनिधिसमेत सहभागी भए । उनीहरुले कालो झण्डा र ब्यानरसहित विरोध प्रदर्शन गर्दै कालो दिन मनाएका छन् ।

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु सुरेश मण्डल, डिम्पल झा र अभिराम शर्मा लगायतका मन्त्रीहरु विरोध कार्यक्रममा विभिन्न स्थानमा सहभागी भए । उनीहरुले संविधानमा रहेको त्रुटिहरु संशोधन नभएसम्म प्रत्येक वर्ष संविधान दिवसको दिन कालो दिन मनाइरहने बताएका छन् ।   

राष्ट्रिय जनता पार्टीले शुक्रबार साँझ १५ मिनेट संविधानको विरुद्धमा बल्याक आउट गर्न समेत आह्वान गरेको छ ।

समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश २ सरकारका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरु भने न खुशीयाली, न विरोध दुवै कार्यक्रम नगरी मौन एवं तटस्थ बसेका छन् 

तर संविधान दिवसको अघिल्लाे दिन बिहीबार साँझ भने प्रदेश २ सरकारको भवनमा दीपावली गरिएकाे थियो । मुख्यमन्त्री कार्यालयलगायत सबै मन्त्रालय र मन्त्रीका क्वार्टरहरुमा दीप प्रज्ज्वलन गरी दीपावली गरिएको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया