बझाङमा लाेपाेन्मुख भुवा पर्व तथा चाली नाच प्रदर्शन

 असोज ३, २०७६ शुक्रबार १८:१३:४० | डीबी बिष्ट
unn.prixa.net

बझाङ - संविधान दिवसको अवसरमा बझाङमा लाेपाेन्मुख भुवा पर्व तथा चाली नाच प्रदर्शन गरिएको छ।

स-साना नानीहरुदेखि वयोवृद्धहरुलाई समेत नचाउने सुदूरपश्चिमको प्रसिद्ध भुवा पर्वमा नाचिने चाली नाच प्रदर्शन गरिएकाे नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताउनु भयो । 

कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने यो नाच प्रत्येक वर्षको पौष औंँसीका दिन मसाल (राँको) सल्काएर सुरु हुने गरेको भए पनि यसको जगेर्ना गर्न संविधान दिवसको अवसर पारेर प्रदर्शन गरिएको जिल्ला समन्वय समितिका संयोजक खड्क बहादुर खड्काले बताउनु भयो । 

यस नाचमा कौरव र पाण्डवबीच भएको भिडन्तकाे झल्कोलाई प्रदर्शन गर्ने गरिन्छ । कुरुक्षेत्रको युद्धभन्दा पहिले पाण्डवहरु बनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाँउमा घुमेको र विकास निर्माणका काममा स्थानीयको सहभागिता जुटाएको किंवदन्ती रहेको छ ।

किंवदन्ती अनुसार पाण्डवहरुले नै विभिन्न गा‍उँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको हुनाले तिनै कथाहरु नाचमा प्रस्तुत गरिएका थिए ।

पछिल्ला पिढीहरुले यो नाच सिक्न चासो दिन छोडेका कारण लोप हुने खतरामा रहेको स्थानीयकाे भनाइ छ । स्थानीय समाजसेवी विष्णुभक्त जोशीका अनुसार भुवामा हाल्ने माणा (भट्याउँदा भन्ने गीत) गाउन कसैलाई नआउने र सिक्ने चासो नराख्ने गरेका कारण परम्परादेखि चलिआएका यस्ता नाचहरु हराउँदै जान थालेका हुन्।

कतिपय गाँउमा त बुढापाका नभएका कारण यो नाच तथा भुवा पर्व मनाउनै  छोडिसकेको उहाँले बताउनु भयो । यसको जगेर्ना गर्न स्थानीय निकायहरुले चासो दिनुपर्ने उहाँको सुझाव छ ।  
 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया