हाम्रो लक्ष्य २० लाख पर्यटक ल्याउने हो, काम गर्न नसक्नेले नेतृत्व छाडे हुन्छ: मन्त्री भट्टराई

 असोज ४, २०७६ शनिबार १६:५५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख विमानस्थलसँग कुरा अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ ।

सरकार-सरकार अर्थात जी टु जी मोडलमा विमानस्थल सञ्चालन गर्ने निर्णय भए अनुसार म्युनिखले आवेदन दिएको र उसँग धेरै नजिक रहेर कुराकानी भैरहेको भट्टराईले बताउनुभयो । आएका प्रस्तावमध्ये म्युनिखको प्रस्ताव ठोस छ, उनीहरुसँगको कुरा धेरै नजिक पुगेको छ, उहाँले भन्नुभयो ।

भैरहवा विमानस्थल यसै वर्षको डिसेम्बरसम्म तयार भैसक्ने ठेकेदारले जानकारी गराएको मन्त्री भट्टराईले बताउनुभयो । यस्तै भैरहवा विमानस्थलका लागि एअर रुटको विषयमा भारतसँग सहमति भैसकेको उहाँको दावी छ । तर अब बन्दै गरेका अरु विमानस्थलको लागि भैरहवाभन्दा पश्चिमको एअर रुट दिन भारतलाई आग्रह गरिएको र छलफल भैरहेको उहाँले जानकारी दिनुभयाे ।

भैरहवाको लागि कुरा मिलेको छ, नेपालगनञ्ज र महेन्द्रनगरको रुट दिन भारतसँग कुरा भैरहेको छ,चाँडै टुंगिएला, उहाँले भन्नुभयो ।

मंसिरभित्र त्रिभुवन विमानस्थलको अध्यागमन विश्वकै राम्रोमध्ये एक हुने

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको व्यापक सुधार भएको बताउनुभएको छ । उहाँले विश्वका राम्रा मानिएका विमानस्थलमा भएका जस्तै उपकरण र सेवा दिनेगरी काम भैरहेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘कात्तिकदेखि मंसिरसम्म विमानस्थलको अध्यागमन कार्यालको सुधार हुनेछ, विश्वकै राम्रा अध्यागमनमा भएकै उपकरण र प्रक्रिया अब हामी लागू गर्छाैँ ।’

उहाँले भिसा प्रणाली सहज बनाउने दावी गर्दै अनलाइन आवेदनसँगै भुक्तानी पनि अनलाइनबाटै गर्न मिल्ने बनाउने बताउनुभयो ।

मन्त्री भट्टराईले युरोपेली युनियनले नेपाली जहाजलाई कालोसूचीमा राखेको विषयमा यूरोपमा रहेका नेपाली दूतावासमार्फत कुरा भैरहेको पनि जानकारी दिनुभयो । युनियनको सर्तअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा छुट्याउने गरि कानुन निर्माण भैरहेको बताउनुभयो ।

यस्तै मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमको सुधार छिट्टै हुने पनि दावी गर्नुभयो । ‘नेपाल एअरलाइन्स थला परेको अवश्य हो तर यसलाई हामी मर्न दिन्नौँ, यसको सुधार गर्ने नै हो, यसको लागि प्रधानमन्त्रीसँग पनि सल्लाह भएको छ’, मन्त्री भट्टराईले भन्नुभयो ।

निगम सुधारको लागि अध्ययन समितिले पनि सुझावसहित प्रतिवेदन दिइसकेकाले त्यसै अनुसार काम गर्ने उहाँको दावी छ । 

काम गर्न नसक्नेले नेतृत्व छाडे हुन्छ

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने प्रतिबद्धताबाट सरकार पछि नहटेको र नहट्ने उहाले बताउनुभयाे । २० लाख पर्यटक ल्याउन भ्रमण वर्ष २०२० को सचिवालय  नै बनाइएको तर अपेक्षाअनुसार काम नभएको मन्त्री भट्टराईको दावी छ । भ्रमण वर्षका कार्यक्रम संयोजक सुरज वैद्यतर्फ संकेत गर्दै मन्त्री   भट्टराईले भन्नुभयो, ‘हाम्राे लक्ष्य पूरा गर्न उहाँहरुले नेतृत्व लिनुभएको हो, नसक्ने भए ठाउँ खाली गर्नुपर्छ ।’ 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया