कास्कीबाट उपचुनावमा उठ्नु भनेको म फेरि हार्नु हो : वामदेव गौतम

 असोज ४, २०७६ शनिबार २२:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आउँदो मसिंर १४ गते हुने उपचुनावमा आफू नउठ्ने स्पष्ट पार्नु भएको छ ।

शनिबार भएको नेकपाको सचिवालय बैठकमा आफूले कास्की क्षेत्र नम्बर १ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवारी नदिने जानकारी दिनु भएको छ । उहाँले फेसबुकमा स्टाटस लेख्दै आउँदो चुनावमा आफू नउठ्ने जानकारी सचिवालय बैठकमा जानकारी गराएको बताउनु भएको छ । 

उहाँले लेख्नु भएको छ, ‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’

पराजित हुने डर

वामदेव गौतम आफू कास्की क्षेत्र नम्बर १ बाट उपचुनावमा उठे पनि हार्ने बताउनु भएको छ । यसअघि २०७४ सालमा भएको प्रतिनिधि सभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट उठ्नु भएका गौतम कांग्रेसका सञ्जयकुमार गौतमसँग ७४३ मतले हार्नु भएको थियो । सञ्जयकुमार गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गर्दा वामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गर्नु भएको थियो । 

वामदेव गौतमले फेरि एकपटक आफूलाई गठबन्धन भित्रबाटै असहयोग भएकाले आफू बर्दियाबाट हार्न पुगेको बताउनु भएको छ । वाम गठबन्धनसँग प्रतिद्वन्द्वी उम्मेदवारसँग भन्दा ३२ हजार बढी मत भए पनि आफू हार्न पुगेको उहाँले बताउनु भएको छ । चुनावलगत्तै पनि उहाँले आफूलाई पार्टी र गठबन्धनबाटै असहयोग भएको बताउनु भएको थियो । 

उहाँले बर्दियाको भन्दा पनि कास्की क्षेत्र नम्बर २ मा अवस्था अझ कमजोर भएको भन्दै आफू उठे हार्ने निश्चित भएको बताउनु भएको छ । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका नेता रवीन्द्र अधिकारी झण्डै ९ हजार मतान्तरले विजयी हुनु भएको थियो । उहाँले २७ हजार २ सय ७ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार ६६१ मत ल्याउनु भएको थियो । 

नेता गौतमले कास्की २ मा आफूभन्दा पनि स्थानीय नेताहरु उठ्दा सहज तरिकाले जित हात पार्ने भन्दै पहिलो हकदार कास्कीका स्थानीय नेता भएको बताउनु भएको छ । 

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको हो । कास्की २ मा पहिलेदेखि नै वामदेव गौतमले उम्मेदवारी चर्चा भएको थियो । तर वामदेव गौतमले उम्मेदवारी नदिने बताएपछि नेकपाले भने रवीन्द्र अधिकारीकी पत्नी तथा अखिलकी पूर्व नेतृ विद्या भट्टराईलाई उठाउने सम्भावना रहेको छ । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्की २ मा आफूहरुले जित्नै पर्ने बताए पनि उम्मेदवार को हुने भन्नेबारे भने कांग्रेसले केही खुलाएको छैन । 

त्यस्तै साझा पार्टीबाट पहिले रवीन्द्र मिश्रको चर्चा भए पनि पछिल्लो पटक भने रजनी केसीको निकै चर्चा चलेको छ । प्रखर वक्ताका रुपमा चिनिएकी केसी केही दिनअघि मात्रै कांग्रेस छाडेर साझा पार्टी प्रवेश गर्नु भएको हो । 

हेर्नुहोस् वामदेव गौतमको स्पष्टीकरण

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया