म्यानचेस्टर सिटीको प्रभावशाली जित, वाटफोर्ड ८–० ले पराजित

 असोज ५, २०७६ आइतबार ७:१५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डविरुद्ध प्रभावशाली जित निकालेको छ । उसको जितमा बेर्नान्डो सिल्भाले ह्याट्रिक गरे । प्रिमियर लिगमा आफ्नो इतिहासमा अहिलेसम्मकै ठूलो मार्जिनको जित निकालेको सिटीले वाटफोर्डलाई ८–० ले हरायो ।

यसअघि २०१३ मा नर्विचविरुद्ध ७–० को जित निकालेपछि सिटीले धेरै गोल अन्तरमा जित निकालेको यो पहिलो पटक हो । घरेलु मैदानमा भएको एकतर्फी खेलको पहिलो मिनेटमा नै सिटीले अग्रता बनायो । 

उसका लागि डेविड सिल्भाले गोल गरे । यो सिजनको अन्तिममा मायामी क्लबमा जाने हल्ला चलेका सिल्भाले केभिन डी ब्रुइनको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि छैटौ मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो । जसलाई सर्जियो अगुइरोले गोलमा परिणत गरे । त्यसपछि १२ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई तीन शून्यले अगाडि राखे ।

एकपछि अर्को गोल गरेको सिटीले १५ औं मिनेटमा वाटफोर्डको पोष्टमा चौथो गोल थप्यो । यसपटक उसका लागि बेर्नान्डो सिल्भाले गोल गर्न सफल भए ।

निकै फितलो डिफेन्स रहेको वाटफोर्डविरुद्ध १८ औं मिनेटमा सर्जियो अगुइरोको पासमा ओटामेन्डीले गोल गरे । सुरुवाती २० मिनेट भित्र नै ५ गोल गरेको सिटीले पहिलो हाफमा गोलको अग्रता कायम राख्यो ।

दोस्रो हाफमा उसले २ गोल थप्यो । ४८ औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गरे भने ६० औं मिनेटमा ब्रुइनको पासमा फेरि सिल्भाले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पूरा गरे । 

८५ औं मिनेटमा सिटीले आठौं गोल थप्यो । यसपटक केभिन डी ब्रुइनले गोल गर्न सफल भए । त्यसपछि पनि सिटीले अरु माैका पाएकाे थियाे तर गाेल थप्न सकेन ।

प्रिमियर लिगमा अहिलेसम्मकाे ठूलाे जित ९–० काे रहेकाे छ । जुन म्यानचेस्टर युनाइटेडले इप्सविचविरुद्द निकाेलेकाे थियाे ।

यो जितले सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अन्तर २ अंकमा झारेको छ । सिटीको ६ खेलमा १३ अंक भएको छ भने लिभरपुलको ५ खेलमा १५ अंक छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया