अग्रिम टिकट बुकिङ खुले पनि यात्रुले भाेग्ने गरेकाे असुविधामा सुधार नआएकाे गुनासाे

 असोज ५, २०७६ आइतबार २०:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको गोंगबुमा रहेको नयाँ बसपार्कमा आइतबार अरु दिनभन्दा धेरै भिडभाड थियो ।

सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारदेखि टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउण्टरमा एक्कासी भिड बढेको हो ।

आइतबारबाट लामो दुरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैँमा घर जानेहरु लाइन बस्न बाध्य छन् ।

नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका स्थानबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएपछि यहाँका काउण्टरमा पनि चाप बढेको छ ।

दशैँमा झण्डै २० देखि ३० लाखले काठमाण्डौ छाड्ने अनुमान गरिएको छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् । तर लामो दुरीका सार्वजनिक बस सीमित संख्यामा हुँदा दशैँमा घर जाने यात्रुले असहजता झेल्दै आइरहेका छन् । 

विगतदेखि नै यात्रुहरुले यस्तो असुविधा झेल्ने गरेका भए पनि यसमा सुधार आउन सकेको छैन । लामो दुरीको यात्राका लागि आइतबारबाट टिकट बुकिङ खुला भए पनि नजिकका जिल्लाका लागि भने आउँदो १० गतेबाट खुल्ने जनाइएको छ । 

आइतबारबाट लामो दुरीको लागि टिकट बुकिङ खुले पनि लिन सहज नभएको यात्रुहरुले गुनासो गरेका छन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया