पर्यटन बाेर्डकाे सीईओ छनाेट प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्त...
बैशाख १२, २०८१ बुधबार
मोरङ – एक किशोरीलाई जबर्जस्ती रक्सी खुवाएर बलात्कार गरेको आराेपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ ।
मोरङको ग्रामथान गाउँपालिका–७ की किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका चारै जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
शनिबार राति ग्रामथान–७ को केराघारीमा १७ वर्षीया किशोरीमाथि बलात्कार भएको बताइएकाे छ । बलात्कारको आरोपमा ग्रामथान गाउँपालिका–५ बस्ने सुरेश थानदार, कमल पुरी, बेलबारी–५ मा बस्दै आएका सन्तोष कुमार माझी र प्रकाशकुमार थारूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार किशोरीलाई युवकहरूले रक्सी खुवाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा देखिएको छ । शनिबार राति एक बजेतिर जबर्जस्ती करणी भएको खबर आएपछि घटनास्थलमा पुगेको प्रहरीले शनिबार राति नै घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको अधिकारीले बताउनु भयो ।
प्रहरीका अनुसार घटनामा संलग्न चारै जना किशोरीसँग चिनजान भएका व्यक्तिहरु हुन् । शनिबार राति किशोरीलाई घटनामा संलग्नहरूले स्थानीय पसलमा र रक्सी खुवाएका थिए । रक्सी खाएर अर्धचेत भएको अवस्थामा करणी भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका चारै जनालाई जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।