पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
माेरङ - कांग्रेसकाे नाराबाजीका बावजुद मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश भएकाे छ।
आइतबार रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधेयक फिर्ता लिन माग गर्दै यस अघि पनि संसद अवरुद्ध पार्दै आएको थियो ।
सभामुख प्रदिपकुमार भण्डारीले आफ्नो ठाउँमा गएर बस्न भन्दै गर्दा कांग्रेसले नाराबाजी जारी राखेपछि सामाजिक विकास समितिकी सभापति सरिता थापालाई समितिबाट प्राप्त प्रतिवेदन सभामा प्रस्तुत गर्न अनुमति दिइएकाे थियाे ।
अगाडी नाराबाजी चल्दै गर्दा सामाजिक विकास समितिकी सभापति सरिता खड्काले समितिको प्रतिवेदन सुनाउनुभएकाे थियाे । अधिनायकवादी अभ्यास बन्द गर, संसदीय सर्वाेच्चता कायम गर लगायतका नारा लगाउँदै कांग्रेसले संसद बैठक अवधिभर नाराबाजी गरेको थियो । अवरोधकै बीच प्रदेशसभामा विधेयकबारेको प्रतिवेदन पेश भयो । सामाजिक विकास समितिका सभापति सरिता खड्काले प्रतिवेदन प्रस्तुत गरेलगत्तै प्रदेश सभाको बैठक स्थगित भएको थियो ।
विधेयकका केही बुँदा संशोधन हुनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले विधेयक सदनमा छलफल नै नगराउन आग्रह गर्दै आएको थियो । कांग्रेसले विधेयक फिर्ता हुनुपर्ने भन्दै आइतबार नै सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र दिएको थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक विधेयक जस्तो नभइ एउटा विद्यालय व्यवस्थापन समितिको दस्तावेज जस्तो भएको कांग्रेसको आरोप छ । विज्ञसँग परामर्श लिएर र थप छलफल गरेर मात्र सभामा ल्याउन भनिएको विधेयक समितिमा समेत आन्तरिक छलफल नभइ आएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको आरोप छ ।