इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग चेल्सी पराजित

 असोज ६, २०७६ सोमबार ६:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई २–१ गोलले हराएको छ । योसँगै लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ । यता चेल्सीका लागि भने यो सिजनको दोस्रो हार हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा नै २ गोल गर्न सफल भयो । १४ औं मिनेटमा मोहम्मद सलाहको पासमा एलेजान्देर आर्नाल्डले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ३० औं मिनेटमा रोबर्टसनको पासमा रोबेर्टो फिरमिन्होले लिभरपुलको अग्रता २–० मा पुर्‍याए । पहिलो हाफमा २ गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफको सुरुवातमा नै २ वटा सुन्दर मौका पाएको थियो । जसमा चेल्सीको गोलकिपरले उत्कृष्ट बचाउ गरे । एकपटक लिभरपुलका फिरमिन्होको प्रहारलाई बचाए भने अर्को पटक आत्मघाती हुने मौका टारे ।

यता युवा खेलाडीले भरिएको चेल्सीले पहिलोहाफमा डरलाग्दो मुभ बनाउन सकेन । तर ५८ औं मिनेटमा उसले २ पटक गोलको मौका पाएको थियो । एकपटक अब्राहम चुके भने अर्कोपटक कान्टेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

२ गोलले पछि परेको चेल्सीले ७१ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि कान्टेले गोल गर्दै अन्तर २–१ मा पुर्‍याए । त्यसपछि पनि चेल्सीले अरु २ वटा मौका पाएको थियो । तर एउटा प्रहार पोष्ट नजिकैबाट बाहिरियो भने एउटा गोलकिपरले बचाए ।

यो जितले लिभरपुलले ६ खेलमा १८ अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया