स्क्रब टाइफस के हो ? कसरी बच्ने ?

 असोज ६, २०७६ सोमबार ८:४१:० | रासस
unn.prixa.net

काठमाण्डौ – तपाईँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । 

पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार अहिले देशका ६३ जिल्लामा रोग देखापरेको छ । सन् २०१९ को आठ महिनाको अवधिमा ५५५ जनामा रोगको सङ्क्रमण भएको र तीन जनाको अकालमा ज्यान गएको छ ।

अघिल्ला तीन वर्षमा यही रोगका कारण १६ जनाले अकालमा ज्यान गुमाएका थिए । जेठ महिनाको अन्तिमदेखि कात्तिक महिनाभर रोगको उच्च जोखिम मानिन्छ । सन् २०१६ मा ४८ र सन् २०१८ मा ५६ जिल्लामा यो रोग देखापरेको थियो ।

महाशाखाका अनुसार सन् २०१७ मा ६७० सङ्क्रमित भएर नौ, सन् २०१८ मा एक हजार ९८ मा सङ्क्रमित भएर चार जनाको ज्यान गएको थियो । सन् २०१९ को हालसम्म रोगको सबैभन्दा बढी सङ्क्रमण प्रदेश नं ५ का जिल्लामा २२४ जनामा देखापरेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा आठ जनामा देखापरेको महाशाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश नं १ का इलाम, झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, धनकुटा, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, प्रदेश नं ३ का सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डाै, नुवाकोट, धादिङ, मकवानपुर, चितवन र गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी पूर्वमा सो रोग देखापरेको महाशाखाले जनाएको छ ।

यसैगरी प्रदेश नं ५ का गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुमपूर्व, दाङ, बाँके, बर्दिया, नवलपुर र कर्णाली प्रदेशका सल्यान, सुर्खेत, जाजरकोट, कालिकोट, रुकुम पश्चिम, सुदूरपश्चिमाञ्चल प्रदेशका बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडीमा पनि रोग देखापरेको छ । 

स्क्रब टाइफस के हो ?

एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले सङ्क्रमित सुक्ष्म कीरा (माइट)को टोकाइबाट लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ । महाशाखाका प्रमुख एवं कीटजन्य रोग विशेषज्ञ चिकित्सक विवेक लालका अनुसार बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा यो जीवाणु पाइन्छ ।

यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । विसं २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रमा मुसा देखिन थालेका र मुसाको टोकाइबाट रोगको सङ्क्रमण बढेको महाशाखाले जनाएको छ । ‘मृत्युदर घट्दै गएको छ तर सङ्क्रमित बढ्दै गएको छ’, उहाँले भन्नुभयो ।

रोगको परीक्षण गर्न महाशाखाले स्थानीय तथा प्रदेश तहमा १० हजारको हाराहारीमा कीट उपलब्ध गराएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ चिकित्सक अनुप बास्तोला विशेषगरी मुसाको शरीरमा बस्ने माइट नामक परजीवीले ओरेन्टिया सुसुगामी नामक कीटाणु सार्दा स्क्रब टाइफस हुने जानकारी दिनहुन्छ ।

सङ्क्रमति व्यक्तिलाई अत्यधिक ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु, बढी मात्रमा टाउको दुख्नु, शरीरबाट चिटचिट पसिना आउनु, शरीरका भागहरूमा स–साना रातो बिमिरा देखिनु, हल्का आँखा रातो हुनुजस्ता लक्षण देखा पर्छ । सामान्यतया सङ्क्रामक परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ ।

रोगको समयमा उपचार हुन नसकेमा शरीरका फोक्सो, कलेजो मस्तिष्कलगायतका अङ्गले काम गर्न छाड्ने चिकित्सकले जानकारी दिएका छन् । ‘रोगको जीवाणु शरीरमा फैलिन पुग्यो भने शरीरका अङ्गले काम गर्न छाड्छ (डिसअर्डर हुन्छ)’, उहाँले भन्नुभयो ।

कसरी बच्ने ?

मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चौरमा सुत्नु हुँदैन । रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सुक्ष्म कीराले टोकेको चिनोबाट हुने गर्दछ ।

यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ । रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण गरिन्छ । महाशाखाले सबै जिल्लामा रोग पहिचान गर्न कीटको व्यवस्था गरेको जनाएको छ ।

अन्तिम अपडेट: असोज २९, २०७६

तपाईको प्रतिक्रिया