धनुषामा कक्षा १० मा पढ्ने विद्यार्थीले बनाए हेलिकप्टर

 असोज ६, २०७६ सोमबार ११:२२:३६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषाका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले हेलिकप्टर निर्माण गरेका छन् । मिथिला नगरपालिकाको ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत्त १७ वर्षका हरिनारायण पण्डितले हेलिकप्टर निर्माण गर्नुभएको छ ।

साइकल, मोटरसाइकल, ट्याक्टर, बस र कारमा प्रयोग हुने इन्जिनको पार्टपूर्जा जोरजाम एवं प्रयोग गरेर हरिनारयाणले २ महिनाकै अवधिमा हेलिकप्टर निर्माण गर्नुभएको हो । हेलिकप्टरमा पेट्रोलबाट चल्ने इन्जिन जोडिएको छ । थोरै समयमै हेलिकप्टर निर्माण गरेपछि स्थानीयहरु उहाँको कामले चकित भएका छन् । हरिनारायण आफूले बनाएको हेलिकप्टर उडाउने तयारीमा हुनुहुन्छ ।

हरिनारायण मिथिला नगरपालिका– ५  बस्ने श्रीनारायण पण्डितका छोरा हुनुहुन्छ । सामान्य परिवारमा हुर्कनुभएका हरिनारायण अध्ययनसँगै ढल्केवरको तरा साइकल स्टोर पसलमा गएको तीन वर्र्षदेखि साइकल मर्मतको काम गर्दै आउनुभएको छ । 

साइकल पसलमा काम गर्दागर्दै हरिनारायणले एक वर्ष अघि रेन्जर साइकलमा पेट्रोल इन्जिन प्रयोग गरी मोटरसाइकल बनाएर सडकमा गुडाउनुभएको थियो । ‘मैले २०७५ असोज १ गते विश्वकर्मा पूजाको दिन आफूले बनाएको मोटरसाइकल पूजा गरेर चलाएको थिएँ । केही महिनासम्म चढेँ । पटक–पटक प्रहरीले रोक लगायो ।’ हरिनारायणले भन्नुभयो ‘मोटरसाइकल गुडाउन प्रहरीले रोक लगाएपछि हेलिकप्टर बनाउन सुरु गरेँ ।’

हेलिकप्टर निर्माणमा २ लाख रुपैयाँ खर्च भएको हरिनारायणले बताउनुभयो ।  उहाँले भन्नुभयो ‘विभिन्न पार्टपूर्जा जोरजाम गरी अहिलेसम्म २ लाखभन्दा बढी खर्च भएको छ । केही आमाबुबाले सहयोग गर्नुभएको छ । केही साथीहरुसँग सापटी लिएको छु र केही आफैँले साइकल पसलमा कमाएको पैसा खर्च गरेको छु ।’ 
छोराको हेलिकप्टर निर्माणमा बुबा श्रीनारायण र आमा निर्मला देवीले सघाउनु भएको छ । ‘छोराले हेलिकप्टर बनाउने इच्छा देखायो’ बुबा श्रीनारायणले भन्नुभयो ‘छोराको इच्छा पूरा गर्न सके जति समान किन्न आर्थिक सहयोग गरेको छु ।’

हरिनारायण हेलिकप्टर अब मज्जाले उड्ने दाबी गर्नुहुन्छ । ‘१०।१२ दिन अघि पहिलो पटक जाँच गर्दा हेलिकप्टर धर्तीबाट केही माथि उडेको थियो । त्यसपछि इन्जिनमा केही खराबी आएको थियो । अहिले पुरै ठीक गरेको छु, अब मज्जाले उड्न सक्छ’ हरिनारायणले भन्नुभयो । 

हेलिकप्टर औरही खेलाको खुल्ला चौरमा २ जना सवार भएर १० देखि २० फिटसम्म तत्काल उडाउन सकिने उहाँको भनाइ छ ।

हरिनारायणले आइतबार नै हेलिकप्टर उडाउने तयारी गरेका थिए । तर स्थानीय प्रशासनले अनुमति नदिएपछि र धनुषाका प्रमुख जिल्ला अधिकारी उपस्थित नभएपछि उडान स्थगित गरिएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हरिनारायणले हेलिकप्टर बनाएको विषयमा आफूले जानकारी पाएको बताउनुभयो । बनाएको हेलिकप्टर उडाउन नागरिक उड्ययन कार्यालयबाट अनुमति दिए मात्र आफूहरुले अनुमति दिनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘हरिनारायणले हेलिकप्टर बनाएर उडाउने तयारी गरेको जानकारी आएको छ । यो हेलिकप्टर उडाउँदा दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिने ? त्यसको लागि नागरिक उड्डययन कार्यालयबाट अनुमति लिन भनेको छु ।’  

अन्तिम अपडेट: चैत १३, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

2 Comments

  • Bishnu prasad dhakal

    Sept. 25, 2019, 4:02 a.m.

    Very good..

  •  0 Reply
  • Ram Lal Yadav

    Sept. 23, 2019, 3:05 p.m.

    I am very proud of you that there is such a person in our Madhesh, go far ahead. Congratulations!

  •  0 Reply

तपाईको प्रतिक्रिया