नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच हुने छलफलमा 'सी विचारधारा'का बारेमा कुनै चर्चा हुँदैन : नेता भुसाल

 असोज ६, २०७६ सोमबार १५:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीले ‘सी विचारधारा’का बारेमा नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच बहस गर्न लागेको भन्ने चर्चा सही नभएको नेकपाका नेता वेदुराम भुसालले बताउनु भएको छ । 

भुसालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग अनुभव आदानप्रदान गर्न नेपाल कम्युनिष्ट पार्टीले कार्यक्रम गरेको भए पनि बाहिर ‘सी विचारधारा’मा बहस हुन लागेको भनेर चर्चा गरिएको भन्दै त्यस्तो नभएको बताउनु भएको हो । 

सोमबारदेखि काठमाण्डौमा ‘नेपाल-चाइना फ्रेण्डशिप सिम्पोजियम’ शीर्षकमा दुई दिने अन्तरक्रिया कार्यक्रम हुँदैछ । कार्यक्रममा दुवै देशका कम्युनिष्ट पार्टीहरुबीचको अनुभव आदानप्रदान मात्रै हुने उहाँले बताउनुभयो ।  

‘चीनबाट आएका साथीहरुले त्यहाँको कम्युनिष्ट शासन पद्धति र व्यवस्थाका बारेमा चर्चा गर्नुहुन्छ, हामीले हाम्रो देशको कम्युनिष्ट व्यवस्थाको बारेमा कुरा गर्छौँ’, उहाँले उज्यालाेसँग भन्नुभयो, ‘यो दुवैका बीच अनुभव आदानप्रदानकाे कार्यक्रम मात्रै हो ।’ आफ्ना देशमा भएको कम्युनिष्ट पार्टीको क्रियाकलापका बारेमा एक अर्कालाई जानकारी दिने काम हुने उहाँले बताउनुभयो ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच समाज रुपान्तरण, कम्युनिष्ट अनुशासन र विकास तथा समृृद्धिका एजेण्डामा सोमबार र मंगलबार दुई दिनसम्म छलफल हुँदैछ । 

सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले तीन वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नेछन् भने नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट दुई वटा कार्यपत्र प्रस्तुत हुने पनि उहाँले जानकारी दिनुभयो ।  

सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित केन्द्रीय तहका दुई सय जना नेता तथा बुद्धिजीवी सहभागी हुनेछन् । कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सङ तावको नेतृत्वमा २० जना सहभागी हुने जनाइएको छ ।  

गएकाे भदाै २२ मा चिनियाँ विदेश मन्त्रीको भ्रमणका बेला चिनियाँ भाषा पढाउन पाँच सय स्वंयसेवी शिक्षकहरु दिने सम्झौता भएको थियो । त्यसलगत्तै अहिले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त कार्यक्रम भएपछि विभिन्न खाले चर्चा हुन थालेको छ । 

कतिपयले नेपाली कम्युनिष्ट पार्टीलाई अब चीनले पढाउन पनि थालेछ भनेर आशंका जनाएका छन् । तर भुषालले भने कसैले कसैलाई पढाउने, नपढाउने नभइ विशुद्ध अनुभव आदानप्रदानका लागि कार्यक्रम गरिएको बताउनुभयो । 

चीनको आफ्नै शासन व्यवस्था छ, नेपालको आफ्नै, त्यसैले चिनियाँ शासन व्यवस्था अन्तर्गत ‘सीको विचारधारा’का बारेमा बहस हुन थालेको भन्नु उचित नहुने पनि उहाँले बताउनुभयो । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने चर्चासँगै चीन र नेपालका कम्युनिष्ट पार्टीबीच वैचारिक अन्तर्क्रियाहरु बढिरहेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया