पूर्व प्रेमिका भेट्न गएका प्रहरीसहित दुई जनाविरुद्ध अपहरणको मुद्दा

 असोज ६, २०७६ सोमबार १८:४२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिका–११ घोडसुवामा पूर्व प्रेमिकालाई भेट्न गएका र उनका सहयोगीविरुद्ध अपहरणको मुद्दा दर्ता भएको छ । 

घोडसुवाकी विवाहित युवतीलाई भेट्न गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका वाणीका राजेश डगौरा र उनलाई सहयोग गर्न गएका कैलालीको घोडाघोडी नगरपालिका–११ का वीरेन्द्र चौधरीविरुद्ध अपहरणको मुद्दा दर्ता भएको हो ।

दुवै जनाविरुद्ध यौन दुर्व्यवहार, अपहरण र शरीर बन्धकमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरी प्रहरी जवानसमेत रहेको खुलेको छ । ती युवतीसँग विगतमा डगौराको प्रेम सम्बन्ध रहेको र उनलाई भेट्न जाँदा गाउँलेले बाँधेर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको थियो ।

उनीमाथि गाउँलेहरुले कुटपिट समेत गरेका थिए । यता घोडसुवाका स्थानीयले भने युवतीलाई अपहरण शैलीमा लैजान खोजेपछि समातेर प्रहरीको जिम्मा लगाएको र यौन दुर्व्यवहार, अपहरण र शरीर बन्धकमा मुद्दा दर्ता गरेको बताएका छन् ।

युवतीको विवाह विक्रम संवत २०७५ जेठमा भएको थियो । डगौरा पनि विवाहित हुन् । यता डगौराका परिवारले भने युवतीका गाउँलेहरुले कुटपिट गरेको भन्दै कुटपिटमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया