बंगलादेश साफ यू–१८ फुटबलको सेमिफाइनलमा

 असोज ६, २०७६ सोमबार १७:४६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बंगलादेश नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको हो । सशस्त्र प्रहरी बलको हलचोक रंगशालामा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो ।

बल पोजिसनमा भारतले पकड जमाए पनि गोल गर्न भने सकेन । यस्तै खेलको चौथो मिनेटमै भारतका पहिलो रोजाईका गोलकिपर प्रभ्सुखान सिंह घाइते भएका थिए । बंगलादेशका खेलाडीसँग जुध्न पुग्दा घाइते भएका सिंहलाई हस्पिटल लगिएको थियो ।

यो  बराबरीसँगै समूह ’बी’ को बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । र, यस समूहबाट सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । बराबरीसँगै भारतले १ अंक जोडेको छ । भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ ।

भारतलाई सेमिफाइनल पुग्न श्रीलंकासँग बराबरी खेले पुग्नेछ । श्रीलंकालाई भने जित्नै पर्ने दबाब छ । अहिलेसम्म श्रीलंका अंकविहीन रहेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया