चिनियाँ राष्ट्रपति सीकाे विचारधारा नेपालकाे समृद्धिको यात्रामा सहयाेगी हुन्छ : नेता पाेखरेल

 असोज ६, २०७६ सोमबार १९:४०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार र प्रयोगहरुलाई बुझ्न नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको छलफल कार्यक्रम राखिएको बताउनु भएको छ ।

सोमबारबाट काठमाण्डौमा आयोजित ‘नेपाल–चाइना फ्रेण्डशिप सिम्पोजियम’ शीर्षकमा दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले आफूहरुको सिंगो ध्यान समृद्ध नेपाल, सुखी नेपाली मात्रै नभई समृद्ध हासिल गर्ने दिशामा केन्द्रित भएको भन्दै उहाँले यसका लागि चीनका राष्ट्रपति सीको विचारधारा महत्वपूर्ण रहेको बताउनुभयो ।

सीको विचारधाराले चीनको आर्थिक तथा राजनीतिक व्यवस्थालाई मजबुत गराएकाले त्यो विचारधारा नेपालको सन्दर्भमा पनि उपयुक्त हुनसक्ने बताउनुभयो । सीको विचारधाराले चीनमा जसरी विधिको शासन स्थापित गराएको छ त्यस्तै व्यवस्था नेपालको सन्दर्भमा आवश्यक रहेको बताउनुभयो ।

सन् २०१३ देखि विशाल चीनको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले गरेको बताउँदै नेता पाखरेलले सीको नेतृत्वमा चीनको विकासमा नयाँ आयाम देखिनुका साथै वैचारिक क्षेत्रमा पनि नयाँ विचारधाराको निर्माण भएको बताउनुभयो । उहाँले सी जिनपिङले अघि सारेको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ ले दुई वर्षमै विश्वको प्राज्ञिक जगत, कम्युनिष्ट पार्टी र यसका नेता तथा कार्यकर्ताबीच गहन बहस र छलफल सिर्जना गरेको बताउनुभयो । 

जनवादी गणतन्त्र चीन स्थापना भएपछि चीनले हासिल गरेको तीव्र आर्थिक विकास र चिनियाँ कम्युनिष्ट पार्टीले तय गरेका पार्टी स्कुलका पाठ्यक्रमहरु र प्रशिक्षण विधि नेपालको समृद्धिको यात्रामा र नेकपाको स्कुल पाठ्यक्रममा सहयोगी हुने नेता पोखरेलले बताउनुभयो ।

यसका साथै आगामी दिनमा नेपाल र चीनका दुवै कम्युनिष्ट पार्टीबीचको द्विपक्षीय अध्ययन, भ्रमणलाई तीव्रता दिनु पर्ने पनि बताउनुभयो । कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सोङ ताओले पनि सम्बोधन गर्नुभएको थियो ।

मंगलबारसम्म चल्ने कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले तीन वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नेछन् भने नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट दुई वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया