तातोपानी नाका १० दिन बन्द हुने

 असोज ७, २०७६ मंगलबार ७:५:३६ | रासस
unn.prixa.net

सिन्धुपाल्चोक – अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको यो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य सुरु गरिएकाले आठ/दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताउनुभयो । यो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरू पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यस नाकाबाट भूकम्पपछि यस पालाको दशैँका लागि करिब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात/आठ टोली तिब्बत गइसकेकाले अबको तीन/चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरूले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया