चितवनकाे कार्टुन उद्योगमा लागेकाे आगाे फैलनबाट राेकियाे, पुरै निभाउने प्रयास जारी

 असोज ७, २०७६ मंगलबार १९:१८:३९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - भरतपुर महानगरपालिका वडा नम्बर–४ मा रहेको कार्टुन उद्योग (युनाइटेड प्याकेजिङ प्रा.लि.) मा लागेको आगाे पूर्णरुपमा निभाउन नसकिए पनि अन्यत्र फैलनबाट भने राेकिएकाे छ ।

बिहान ३ बजे लागेको आगो अहिले साँझसम्म पनि पूर्ण रुपमा निभाउन भने नसकिएको प्रहरीले बताएको छ ।

उद्योगमा कागजको ठूलो ठूलो रोल र कागजका थुप्राहरु धेरै भएकाले त्यसमा लागेको आगो निभाउन सकस भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले बताउनुभयो ।

उद्योगमा लागेको आगो निभाउन नसकिए पनि बाहिर असर पुर्याउन नसक्ने गरी नियन्त्रणमा लिन भने सफल भएकाे उहाँले बताउनुभयो । 

बिहानैदेखि ५ वटा दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहभागितामा आगो निभाउने काम भइरहेको केही समयमा आगो पूर्ण रुपमा निभ्नेमा आशावादी रहेकाे बताउनुभयो । 

आगाे निभाउन भरतपुर महानगरपालिकाको दुई वटा, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली सेनाको गरी ५ वटा दमकल प्रयोग गरिएको छ । 

आगलागीको कारण अझै पत्ता नलागेको प्रहरीले बताएको छ । बिहान चट्याङ परेपछि आगो लागेको स्थानीयले बताए पनि आधिकारिक पुष्टि भएकाे छैन । 

अन्तिम अपडेट: चैत १६, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया