सामाजिक सञ्जालको अभियानले सात महिनामै बन्यो अनाथ बालबालिकाका लागि पक्की भवन

 असोज ८, २०७६ बुधबार १४:४९:३७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – सामाजिक सञ्जालमा चलाइएको अभियानबाट संकलन भएको रकमले नै इलाममा अनाथ बालबालिकाका लागि पक्की भवन निर्माण भएको छ । संकलित 'राहसल बाल गृह'को लागि पक्की भवन निर्माण गरिएको छ । 

इलाम नगरपालिका–९ गोलाखर्कमा सामाजिक सञ्जालमा चलाइएको अभियानबाटै दुई तले पक्की भवन निर्माण गरिएको हो । ४१ लाख रुपैयाँको लगानीमा भवन बनाइएको हो ।

विक्रम संवत २०७५ असोज ६ गते वसन्त पञ्चमीको दिनदेखि फेसबुकमार्फत आर्थिक संकलन गर्ने अभियान चलाइएको ‘स्रोत व्यवस्थापन अभियान समिति’ का संयोजक चन्द्र राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समितिमा मसँगै विनय तिम्सिना, दिनेश श्रेष्ठ, नरेश श्रेष्ठ र बुद्धमाया सोङमी भएर अभियानमा अहोरात्र खटिएका थियौँ । फलस्वरुप सात महिनामा नै पक्की पवन निर्माण सम्पन्न गरी अनाथालयलाई हस्तान्तरण गरिसकेका छौँ  ।’

दुई तले पक्की भवनमा २० जना बालबालिकालाई पुग्ने आवश्यक लत्ता कपडासहित ओच्छ्यान बनाइएको छ । अलग्गै पढ्ने कोठा, कार्यालय कक्ष, बैठक कक्ष र कार्यक्रम सञ्चालनका लागि समेत बेग्लै कोठाको व्यवस्था गरिएको छ । मनोरञ्जनको लागि टीभी र हरेक गतिविधि निगरानीका लागि सीसीटीभी पनि जडान गरिएको छ । 

रकम सहयोग गर्ने प्रतिबद्धता गरेकाहरुबाट अझै ६ लाख रुपैयाँ संकलन हुन बाँकी रहेको अभियानका संयोजक राईले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण गर्दा तीन लाख रुपैयाँ भने ऋण लागेको छ । अनाथालय निर्माणमा झापाका राजेश भण्डारी, इलामकी प्रेम कुमारी खड्कीले तीन/तीन लाख रुपैयाँ उपलब्ध गराएका छन् । इलामकै रतन चौधरीले तीन लाख रुपैयाँ प्रतिबद्धता गर्नुभएकोमा एक लाख रुपैयाँ उपलब्ध गराइसक्नु भएको छ । 

यस्तै अनाथालयको भवन बनाउन इलामको पशुपतिप्रसाद गणका दुई सय १७ जनाले श्रम गरेका थिए भने स्थानीयले पनि आवश्यकता अनुसार सामग्री दिएका थिए । भवन निर्माणका लागि तीन सय जनाले नगद र निर्माण सामग्री उपलब्ध गराएका छन् । अभियानमा एक सय रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म नगद प्राप्त भएको थियो । सहयोगमा केही विद्यालयका ‘विद्यार्थीले खाजा खर्च कटाएर समेत सहयोग’ गरेको समितिले जनाएको छ ।

पुरानाे भवन

सुरुमा कच्ची घर बनाएर बुवाआमा नभएका दुई जना बालबालिकाबाट अनाथालय सुरु गरिएको सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चौहानले बताउनुभयो । अहिले अनाथालयमा १५ जना बालबालिका छन् । ‘चार कोठे एउटा घरमा सबै जना बस्नु पर्दा निकै समस्या हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘नयाँ घर निर्माण सम्पन्न भएपछि भने छात्र र छात्रालाई तथा तीन जना स्टाफलाई समेत एकै ठाउँमा बस्नुपर्ने बाध्यता हटेको छ । नयाँ भवनमा अरु बालबालिका पनि राख्न सक्छौँ ।’ 

इलाम नगरपालिका–९, गोलाखर्कका राजेन्द्र चौहानले संस्थाकै नाममा आठ रोपनी जग्गा निःशुल्क दान गरी सुरु गर्नुभएको अनाथालय विक्रम संवत २०६६ सालमा दर्ता गरी २०६८ सालदेखि आमाबावु नभएका बालबालिका राख्न थालिएको हो । अनाथालयमा रहेका बालबालिका सुनाखरी बोर्डिंग, सुनाखरी आधारभूत विद्यालय र भगवती माविमा अध्यनरत छन् । इलाम, झापा, पाँचथर, ताप्लेजुङसम्मका बालबालिका अनाथालयमा रहेका छन् । 

अनाथालयका बालबालिकाको शिक्षाका लागि सुनाखरी बोर्डिंग स्कुलले आठ जनालाई निःशुल्क पढाइरहेको छ । अनाथालयमा रहेका अन्य बालबालिकको विभिन्न व्यक्तिले एसईईसम्मको शिक्षाको व्यवस्था गरिरहेका छन् । जसमा तीन/तीन जना बालबलिकाको जिम्मा 'इलाम टी हाउस'का हरि गुरुङ र प्रविण श्रेष्ठले लिएको समितिले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया