गोली प्रहार गरी प्रहरीले समात्यो चार लुटेरा, एक जना घाइते

 असोज ९, २०७६ बिहिबार ११:१:२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा लुटपाट गरी आतंक मच्चाउने एक समूहमाथि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । शिवचोक र भानुचोकको बीचमा रहेको जनकपुरधाम उपमहानगरपालिका कार्यालय अगाडिको जानकी फर्निसिंगमा लुटपाट गरिरहेको बेला प्रहरीले गोली प्रहार गरी २ जना भारतीय नागरिकसहित ४ जना पक्राउ गरेको हो ।

प्रहरी नायब निरीक्षक (सब–इन्सपेक्टर) सन्तोष झाको कामण्डमा रहेको प्रहरीको गस्ती देखेपछि लुटेराले नलकटुवा पेस्तोल देखाएर भाग्न खोज्दा प्रहरीले प्रतिवादमा तीन गोली प्रहार गरेको थियो ।

प्रहरीले प्रहार गरेको गोली लुटेराको दुवै खुट्टामा लागेको थियो । प्रहरीको गोली लागेर रौतहटको गौर नगरपालिका–४ घर भएका ४५ वर्षका विनोदप्रसाद सिंह घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, पक्राउ पर्ने अन्य तीन जनामा  रौतहटकै वृन्दावन नगरपालिका–१ रमौली बैरियाका ३५ वर्षका गगन पटेल, भारतको विहार राज्य सितामढी जिल्ला पिपराढी इसलामपुर बस्ने ४० वर्षीय मोहम्मद इलयास र यही ठाउँका ३९ वर्षीय ओजिर अन्सारी रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कर्यालय धनुषाले बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा प्रयोग हुने गोली २ राउण्ड,  ताल्चा काट्ने औजार १ थान, ठूलो पेचकस १ थान, नेपाली ७ सय रुपैयाँलगायतको समान बरामद भएको उपरीक्षक खनालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया