कलंकी कोटेश्वर सडक : भत्काउँदै बनाउँदै, सफाइ नहुँदा झारैझार

 असोज ९, २०७६ बिहिबार १४:५९:४२ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - कलंकी – कोटेश्वर सडक देख्दा विदेशमै पुगेझैं लाग्छ, ललितपुरको एकान्तकुना चोकैमा कपडा पसल चलाउँदै आएका दीपक थापालाई । उहाँलाई मात्र होइन, यो सडक भएर यात्रा गर्ने सबैलाई विदेशको कुनै ठाउँ पुगेजस्तो भान हुन्छ । तर पहिले विदेशको झल्को दिने यो सडकको बिस्तारै रुप बिग्रँदैछ ।

‘विभिन्न प्रयोजनका लागि भन्दै जताततै सडक भत्काइएको छ । सडकमा जम्मा भएको  धुलो माटो सफा गर्न कसैले चासो दिएका छैनन्’, थापा भन्नुहुन्छ, ‘त्यो बेला चिल्लो देखिएको सडक अहिले धुलोमैलो देखिन थालेको छ ।’  

सडकमा पैदल हिँडिरहेका गुल्मीका रामहरी पौडेल पनि सडकको अहिलेको अवस्था देखेर छक्कै पर्नुहुन्छ । धोवीघाटमा भेटिनुभएका पौडेलले पहिले देखिने गरेको चिल्लो सडक अहिले जताततै भत्काईंदा पैदल यात्रा गर्नसमेत कठिन भएको गुनासो गर्नुभयो । 

सडकका दुवैतर्फ ढल निकासका लागि बनाइएको ड्रेनको ढक्कन ठाउँठाउँमा फुट्दा त्यसैमाथि भएर पैदल यात्रा गर्न निकै सकस भएको उहाँ बताउनुहुन्छ । नयाँबाटोमा डेरा गरी बस्ने पौडेललाई दिनहुँजसो यो सडकमा आउजाउ गर्नु पर्छ ।

साँझ र अँध्यारो भएका बेला पैदल हिँड्नुपर्दा कतै ड्रेनमा खसिएला कि भन्ने डरले उहाँलाई सधैँजसो सताउँछ । ‘सडक वारपार गर्न सुरुदेखिकै समस्या भए पनि एकातर्फ मात्रै पैदल हिँड्न पहिले सहज थियो’, उहाँ भन्नुहुन्छ, ‘तर अहिले त्यहाँ पनि यात्रा गर्न सुरक्षित रहेन ।’  

गएको माघ १४ गते कलंकी – कोटेश्वर सडक खण्ड चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको हो । चीन सरकारको लगानीमा ५ वर्ष लगाएर चक्रपथ सडक परियोजना अन्तर्गत पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्मको १०.३९ किलोमिटर सडक निर्माण भएको हो ।  

जसअन्तर्गत कलंकीमा अण्डरपास नै निर्माण गरिएको छ । अण्डरपास निर्माणसँगै कलंकी क्षेत्रमा विगतमा लाग्ने गरेको सवारी जाम अहिले समाधान भएको छ ।  

जताततै भत्केको सडक

चीनले नेपालको जिम्मा लगाएको ८ महिना नबित्दै विभिन्न ठाउँमा विभिन्न प्रयोजनका लागि सडक भत्काइएको छ । सडक फराकिलो त छ, तर जताततै भत्काइँदा सडक अस्तव्यस्त देखिएको सडकमा हिँड्ने यात्रुहरु गुनासो गर्छन । 

नख्खु दोबाटो, एकान्तकुना, सातदोबाटो, बालकुमारी लगायतका ठाउँमा सडक भत्काइएको छ । चिनियाँ पक्षले सडकको मुख्य बाटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेकै ८ महिना बितिसक्दा पनि नेपालको जिम्मामा रहेको सर्भिस लेन बनाउने कार्यले अझै पूर्णता पाउन सकेको छैन । खसीबजार, कोटेश्वर लगायतको क्षेत्रमा सर्भिस लेन बनाउन बाँकी छ । 

सडक सफाइ नहुँदा सडकका किनारमा धुलो माटो जमेको मात्रै नभई सडकको बीचमा रहेको डिभाइडरका छेउछेउमा झार नै उम्रिएको छ । धुलो माटो जमेर झार उम्रिदासमेत सडक सफा गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन ।   

सर्भिस ट्रयाक नबन्दा समस्या 

सडकको दुवैतर्फ बन्नु पर्ने सर्भिस ट्रयाक पनि बन्न सकेको छैन । यो सडकखण्ड अन्तर्गत खसीबजार, धोबिघाट, महालक्ष्मीस्थान, सातदोबाटो, ग्वार्को, कोटेश्वर, बालकुमारी लगायतका ठाउँमा सर्भिस ट्रयाक बन्न बाँकी छ ।  

अहिलेसम्म सर्भिस ट्रयाक बन्न नसक्दा सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्न कठिन हुने गरेको छ । खसीबजार क्षेत्रको सर्भिस ट्रयाकको काम भइरहेको भए पनि कोटेश्वर, सातदोबाटो, ग्वार्को लगायतको क्षेत्रमा अझै विवाद कायमै छ । 

स्थानीयले बनाएका टहराहरु नहटाउँदा ती क्षेत्रमा सर्भिस ट्रयाक बनाउन समस्या आएको चक्रपथ सुधार परियोजना कार्यालयका प्रमुख अमृतमणी रिमालले बताउनुभयो । उहाँका अनुसार कोटेश्वर नजिकको सर्भिस ट्रयाक पैदल मार्गका रुपमा बनाउने कि सवारी लैजान मिल्ने किसिमको बनाउने भन्ने विषयमा स्थानीयले विवाद गरेकाले समस्या आएको हो । 

भित्री दुई लेनको सडक अर्थात सर्भिस ट्रयाकको झण्डै ८० प्रतिशतभन्दा बढी काम सकिसकेको र स्थानीयसँग विवाद मिल्नासाथ बाँकी काम पनि सकिने उहाँ बताउनुहुन्छ । अहिले वडाका जनप्रतिनिधिहरुसँग यस विषयमा छलफल भइरहेको र उहाँहरुकै सहयोगमा सर्भिस ट्रयाक निर्माणलाई अगाडि बढाइने पनि रिमालले बताउनुभयो । 

हुँदैन सडक सफाइ 

सडक सफाइ गर्ने भन्दै काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिका दुवैले ब्रुमर खरिद गरेका छन् । तर दुवै महानगरले चक्रपथमा ब्रुमर चलाउँदैनन् ।

महानगरले आफ्नो मातहत रहेको सडक र भीआईपी क्षेत्रमा मात्रै ब्रुमर चलाउने गरेको काठमाण्डौ महानगरपालिका वातावरण विभाग महाशाखा प्रमुख सरस्वती पोखरेलले बताउनुभयो । कलंकी कोटेश्वर सडक चौडा बनाए पनि सडकमा थुप्रिएका धुलो माटो नउठ्दा यो सडकमा गाडी चलाउँदा पनि धुलो उड्ने गरेको छ । 

सडकमा प्लास्टिकजन्य फोहोरहरु मात्रै उठाउने गरेको भए पनि जम्मा भएको धुलो त्यसै छाडिएको छ । मुख्य सडकको दुवैतर्फ धुलो माटो थुप्रिंदा त्यहाँ झारहरु उम्रिन थालेका छन् । सफा र चिल्लो सडक अहिले धुलो माटो जम्मा हुनुका साथै झार उम्रेर हरियो बन्न थालेको छ । 

चक्रपथ सुधार परियोजनाका प्रमुख अमृतमणी रिमाल चक्रपथमा अहिले सफाइ नहुने गरेको स्वीकार्नु हुन्छ । भित्रि सडकहरु अझै कालो पत्रे भइनसकेको र त्यहाँबाट आउने हिलो धुलो बन्द नहुँदासम्म कलंकी कोटेश्वर सडकमा ब्रुमर कुदाउनुको कुनै अर्थ नरहेको रिमाल बताउनुहुन्छ । अहिले पनि जोरपाटी चाबहिल सडक पानी पर्दा हिलाम्मे र अरु बेला धुलाम्मे हुने गरेको छ । 

चाबहिल - जाेरपाटी सडक

अन्य सडकको अवस्था पनि खराब रहेकाले ती सडक सुधार नभएसम्म कलंकी कोटेश्वर सडकमा पनि धुलो आउने उहाँले बताउनुभयो । यो सडकमा दुबै महानगरका सफाई कर्मचारीले सामान्य सफाइको काम गर्दै आएका छन् । 

तर जम्मा भएको धुलो तथा माटो फाल्ने काम भने हुन सकेको छैन । प्लाष्टिक तथा खाद्यान्नजन्य फोहोर मैलाको व्यवस्थापन दुबै महानगर मिलेर गरिरहेको भए पनि सडकमा ब्रुमर लगाएर सफाइ नगरिएको काठमाण्डौ महानगरपालिका वातावरण विभाग महाशाखा प्रमुख सरस्वती पोखरेलले बताउनुभयो । महानगरभित्र पर्ने भएकाले दुवै महानगर मिलेर सडक सफाइ गर्दै आएका छन् ।

यो सडक सडक विभाग मातहतकै भएकाले यसको सफाइ र मर्मतको जिम्मा आफूहरुकै भएको चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणी रिमाल स्वीकार्नु हुन्छ । तर महानगरका बाँकी सडकको स्तरोन्नति नगरी १० किलोमिटर सडक मात्रै सफा गरिरहन कठिन हुने गरेको उहाँ बताउनुहुन्छ । सबै सडकको स्तरोन्नति भएर कालोपत्रे नभएसम्म सडकमा धुलो माटो जम्मा भैरहने रिमालको भनाइ छ ।  

पहिले बनेको सडक भत्काएर फेरि बनाइँदै

यो सडक खण्ड अन्तर्गत नक्खु दोबाटोमा बनिसकेको सडक फेरि भत्काइएको छ । मुख्य सडकको बायाँपट्टिको २१७ मिटर ट्रयाक भत्काएर फेरि बनाउन लागिएको हो । 

१२ वर्षे जात्राको क्रममा रातो मच्छिन्द्रनाथको रथलाई भैंसेपाटी हुँदै नख्खु खोलामा तान्नु पर्ने भएकाले त्यहाँको बाटो भत्काएर रथ तान्न सजिलो हुने गरी बनाउन लागिएको चक्रपथ परियोजना प्रमुख अमृतमणी रिमालले बताउनुभयो । 

‘यो ठाउँमा सडक अलि ओरालो थियो’, उहाँले भन्नुभयो, ‘स्थानीयको आग्रहमा भैंसेपाटी हुँदै आउने बाटो बराबर बनाउन २१७ मिटर सडक भत्काएर फेरि बनाउन लागिएको हो ।’  

चिनियाँ निर्माण कम्पनीलाई सडक बनाउने बेलामा नै स्थानीयले यसबारेमा जानकारी नदिएकाले अहिले आएर सडक भत्काएर फेरि बनाउनु परेको उहाँ बताउनुहुन्छ । 

सडक भत्काएर आकाशे पुल 

चिनियाँ पक्षले सडक जिम्मा लगाउँदा कलंकी कोटेश्वर सडक खण्डको दुई ठाउँमा मात्रै आकाशे पुल बनाएको थियो । धोबिघाट र कोटेश्वरमा मात्रै आकाशे पुल बनाइएको थियो । तर निर्माण सम्पन्न हुँदै गर्दा सडक फराकिलो र चिल्लो भए पनि सडक वारपार गर्न निकै समस्या भएपछि पछिल्लो समय ठाउँठाउँमा आकाशे पुल राख्न थालिएको छ । 

१० दशमलव ३९ किलोमिटर सडक खण्डमा पहिले बनेका २ वटा र अहिले ६ वटा आकाशे पुल बनाउन लागिएको चक्रपथ परियोजना प्रमुख रिमालले बताउनुभयो । त्यसमध्ये ३ वटा पुलको काम धमाधम भइरहेको उहाँले बताउनुभयो । 

एकान्तकुना, सातदोबाटो र बालकुमारीको आकाशेपुल निर्माणको काम अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । पुल बनाउँदा सडक नै खनेर बनाउनु परेकाले त्यस क्षेत्रमा अहिले मुख्य सडकबाट मात्रै सवारी आवतजावत गर्छन् । 

बल्खु, सानेपा र महालक्ष्मीस्थानमा पनि आकाशे पुल बनाउन बाँकी रहेको रिमालले बताउनुभयो । त्यहाँको पुलको डिजाइन सकेर अब केही समयपछि नै खन्ने काम हुने उहाँले जानकारी दिनुभयो । सडक निर्माणकै क्रममा राख्नुपर्ने आकाशेपुल अहिले आएर राख्दा बनिसकेको सडक खनेर राख्नु आफूहरुको बाध्यता भएको पनि उहाँले सुनाउनुभयो ।  

सडक वारपार गर्न सहज बनाउन पनि आकाशे पुल राख्नुपर्ने अवस्था रहेकाले सडक जिम्मा लिएपछि अध्ययन गरेर पुल राख्ने काम अघि बढाइएको रिमाल बताउनु हुन्छ । 

सडक निर्माणकै बेला स्थानीय बासिन्दा तथा यात्रुको समस्यालाई मध्यनजर गर्दै निर्माण गर्न सकिएको भए अहिले आएर बनिसकेको सडक खन्नुपर्ने थिएन ।सडकको दुवैतर्फ रहेको ड्रेनको ढक्कन पनि ठाउँठाउँमा फुटेको छ । ढक्कन फुट्दा पैदल यात्रीलाई हिँड्नसमेत अप्ठेरो छ । यही ढक्कन राखेको माथिबाट पैदलयात्रु हिँड्न सकिने गरी फुटपाथ बनाइएको छ । तर ढक्कन फुट्दा रातिको समयमा यो फुटपाथमा हिँड्ने पैदलयात्री दुर्घटनामा पर्ने गरेका छन् । 

चक्रपथ परियोजनाका प्रमुख अमृतमणी रिमालका अनुसार गाडी चालकहरुले जथाभावी गाडी चढाइदिंदा ढक्कन फुट्न गएको हो । यस्ता केही चालकलाई आफूले प्रहरीको सहयोगमा कारबाही नै गराएको पनि उहाँले बताउनुभयो । फुटेका ढक्कन चाँडै बदल्ने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया