रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन सुरु, झण्डै ५० अर्ब लगानी भित्राउने उद्देश्य

 असोज ९, २०७६ बिहिबार १४:५४:२५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा लगानी सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिलोत्तमाको विकासले समग्र पाँच नम्बर प्रदेशको विकास हुने र समग्र नेपालको विकासमा योगदान पुर्‍याउने बताउनुभयो । प्रचण्डले बुद्धको जन्मस्थल लुम्बिनी, बेलहिया नाका, गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थललगायतका पूर्वाधार पाँच नम्बर प्रदेशकै विकासमा कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

उहाँले राजनैतिक प्रणाली बदलिए पनि नेतृत्वमा शैली र संस्कार बदलिन नसक्दा जनताले चाहेअनुसारको परिवर्तन देखिन नसकेको बताउनुभयो । ठूला आन्दोलनले ठूला परिवर्तन गरे पनि परिवर्तनपछि उदाएका नेतामा पुरानो शैली नबदिलिएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

त्यस्तै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बितेको डेढ वर्षमा सुधारका थुपै्र काम भएको बताउँदै त्यसैको परिणामस्वरुप लगानीको अवसर आएको बताउनुभयो । लगानीको वातावरण बनेको भन्दै अर्थ मन्त्री खतिवडाले नगरपालिकाहरुलाई भूउपयोग नीति बनाएर अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश पाँचमा लगानीको प्रसस्त सम्भावना रहेको बताउँदै प्रतिफल आउने गरी लगानी केन्द्रित गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपाका महासचिव तथा पूव अर्थ मन्त्री विष्णु पौडेलले रुपन्देही जिल्लामा पूर्वाधार विकासमा काम उच्च गतिमा गइरहेको बताउनुभयो । 

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले लगानी भित्राउनका लागि लगानी सम्मेलन भन्दा पनि लगानीमैत्री ऐन कानुन आवश्यक रहेको बताउनुभयो । नेकपाका नेता घनश्याम भुसालले तिलोत्तमा लगानी सम्मेलनले देशभरमै लगानीको बाताबरण श्रृजना गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपाका नेता तथा सांसद छविलाल विश्वकर्मा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायतले बोल्नु भएको थियो ।

झण्डै ५० अर्ब लगानी भित्राउने उद्देश्यसहित २२ परियोजना नगरपालिकाले अघि सारेको छ । २२ मध्ये १० परियोजनाको हस्ताक्षर हुने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने परियोजनालाई ५ वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत कर छुट दिने नगरपालिकाका मेयर बासुदेव घिमिरेले बताउनुभयो । सम्मेलनमा नेपालसहित भारत, चीन र दक्षिण कोरियाका लगानीकर्ताहरु सहभागी छन् ।

तस्बिर-रासस

अन्तिम अपडेट: चैत १५, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया