गुल्मीका अधिकांश मासु पसल मापदण्ड विपरीत

 असोज ११, २०७६ शनिबार २०:३७:३७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – सदरमुकाम तम्घासमा रहेका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको भेटिएको छ । 

चाडपर्व नजिकिँदै गर्दा रेसुङ्गा नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गुल्मी उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च लगायतको टोलीले संयुक्तरुपमा गरेको मासु पसलहरुको अनुगमनमा यस्ताे भेटिएकाे हाे । 

अनुगमनका क्रममा सदरमुकाम तम्घासमा रहेका अधिकांश मासु पसलका मासु काट्ने ठाउँ (वधशाला) निकै फोहोर, दुर्गन्धित देखिएको र मासु बिक्री गर्ने ठाउँ मात्र सफा देखिएको अवस्थामा भेटिएको हो । 

सदरमुकाम तम्घास अन्तर्गत बसपार्क क्षेत्रमा रहेका मासु व्यवसायीहरुले मासु काट्ने गरेका वधशालाहरु शौचालय नजिकै र अत्यन्तै फोहर अवस्थामा रहेको हुँदा व्यवसायीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । 

अनुगमनका क्रममा आउँदा दिनमा मापदण्डअनुसार मासु पसल सञ्चालन नगर्ने व्यवसायीहरुलाई उपभोक्ता ऐन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने समेत बताइएको छ । 

बजार क्षेत्रमा अनुगमनको क्रममा मासु व्यवसायीहरुले खसी र कुखुराको मासु एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको छ । चाडपर्वको समयमा बजारमा हुने कालो बजारीसँगै म्याद नाघेका खाद्य सामग्रीहरुको बिक्री, वितरणमा रोक लगाउन बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने बताइएको छ । 

पहिलो चरण अन्तर्गत जिल्ला सदरमुकाम तम्घासमा अनुगमन समितिले मासु पसल, होटल, किराना लगायत एक सयभन्दा बढी ठाउँहरुमा अनुगमन गरेको थियो । चाडपर्व नजिकिएसँगै जिल्लाका सबै पालिकाहरुले बजार अनुगमन सुरु गरेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया