चाडबाडमा पनि सुनसान छ पशुपतिनगर

 असोज १३, २०७६ सोमबार २०:५५:१ | सुजता सुनुवार
unn.prixa.net

इलाम - दशैँ नजिकिँदै गर्दा पनि इलामको पशुपतिनगर बजार भने सुनसान छ । अन्य समयको तुलनामा बढी कारोबार हुनुपर्ने समयमा सामान्य व्यापार पनि मुश्किलले मात्रै भएको स्थानीय व्यापारीहरुको भनाइ छ । 

एक/दुई किलो दाल, चिनी, चिउरा किन्नेदेखि लत्ताकपडा किन्नेसम्मको भिडले भुइँमा खुट्टा राख्नसमेत गाह्रो हुने बजारमा अहिले भने दिनभरि पसल कुर्ने काम मात्रै भएको स्थानीय व्यापारी आरती लिम्बू सुनुवारले गुनासो गर्नुभयो ।  

गएको असारबाट नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शरीर खोज तलास गरेर रकम जफत गर्न थालेको छ ।

भारतीय सुरक्षाकर्मीले नाकामा २५ हजार रुपैयाँभन्दा बढी नगद बोक्दा जफत गर्न थालेपछि पशुपतिनगर हुँदै नेपाल आउने र भारत जाने पर्यटक आउन र जान छाडेका हुन् । त्यसको प्रत्यक्ष असार बजारमा परेको हो । अहिले पर्वको समयमा पनि त्यस्तो भेटेमा कारबाही गर्ने गरेको बताइएको छ ।  

गएको वर्ष यो अवधिमा दैनिक ५० लाखसम्मको कारोबार हुने व्यापारिक केन्द्रमा अहिले मुश्किलले डेढ लाख रुपैयाँसम्मको कारोबार हुन थालेपछि व्यापारीहरु अन्यत्र जान थालेको पशुपतिनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले यो बजारमा सात सय जनाले व्यापार गर्थे तर अहिले तीन सय ५० जनाले मात्र बजारको व्यापार धानिरहेको छ ।’ 

उहाँका अनुसार विक्रम संवत २०३६ सालमा स्थापना भएको पशुपतिनगर बजारमा ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यापारी र सर्वसाधारण थिए । व्यापार सुकेपछि भने अधिकांश व्यापारी भारतको सिलिगुडी, काठमाण्डौ, विराटनगर, बिर्तामोडलगायतका शहर गएका छन् । दार्जीलिङबाट दैनिक आउने सयौँ भारतीय पर्यटक पशुपतिनगर आएर कपडा, जुत्ता, कस्मेटिक सामग्री खरिद गर्ने र यसबाट लाखौँको कारोबार हुने गरेको थियो । तर अहिले बजार सुनसान छ ।

खोज तलास बढ्नु र वैकल्पिक मार्ग नहुनुले इलामबाट दैनिक बिरामी लिएर जाने गाडी तथा उपचार गर्न जाने बिरामीका परिवारसमेत मारमा परेका छन् । उपचार गर्न ठूलो खर्च लाग्ने भएकाले उनीहरूले जोहो गरेको रकमसमेत सीमाना काटेर जाँदा लैजान नपाइनुले निकै झमेला भएको अध्यक्ष राईले बताउनुभयो । 

पहिला प्रदेश नम्बर १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको कन्याम घुम्न आउने पर्यटकको पनि बजारमा चहलपहल हुन्थ्यो । यसले गर्दा भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यापारीको कारोबार हुने बजारको केन्द्र थियो । तर पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात निर्यातको कारोबार नगर्दा व्यापारीको कारोबार पनि ठप्प बनेको छ । 

यस्तै चीनबाट सोझै सामान भारतका विभिन्न शहरमा जाने गरेकाले पनि पशुपतिनगरको व्यापार घट्न थालेको संघका अध्यक्ष राईले बताउनुभयो ।

इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन, प्लान्ट क्वारेन्टाइन खोल्न पहल गर्न सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको अध्यक्ष राईले गुनासो गर्नुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया