देवः विकास बैंक रकम ठगी प्रकरण : पक्राउ परेकाकाे परिवारद्वारा संघर्ष समिति गठन

 असोज १४, २०७६ मंगलबार ११:१७:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको नारायणपुरमा रहेको देव: विकास बैंकबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा निर्दोष व्यक्तिहरुलाई फसाउन लागेको भन्दै पीडित परिवारले संघर्ष समिति गठन गरेका छन् । 

रकम हिनामिनामा संलग्न भएको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यक्तिका परिवारहरुले बैंकका उच्च तहका व्यक्तिबाट अनुसन्धान गर्नुको साटो खातावाललाई त्रसित बनाएर फसाउन खोजेको भन्दै संघर्ष समिति गठन गरेका हुन् ।

समितिमा विष्णु बुढाथोकी, भक्ति पौडेल, वसन्ता डिसी, सञ्जयकुमार गुप्ता, कृष्णा बस्नेत, सिता गुप्ता र देवीराम पौडेल रहनुभएको छ । शाखा प्रमुख समीर बुढाथोकी र बैंकको केन्द्रिय कार्यालय घोराहीका उच्च कर्मचारी तथा सञ्चालक समितिको मिलेमतोबिना रकम हिनामिना सम्भव नभएको तर प्रहरी प्रशासनले खातावालहरुलाई गिरफ्तार गरेर मानसिक र सामाजिक पीडा दिएको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा पीडित परिवारका सदस्यहरुले तत्कालीन बैंकका जिम्मेवार पदमा रहेका व्यक्तिमाथि तत्काल छानबिन गरी कारबाही गर्न र निर्दोषलाई हिरातमुक्त गर्न आग्रह समेत गरेका छन् । वेष्टर्न डेपलभमेन्ट बैंकको १७ करोेड ९९ लाख ९० हजार अनियमितता भएको भन्दै गएको भदौ ४ गते बैंकका नारायणपुर शाखा प्रमुख बुढाथोकीलाई दाङ प्रहरीले पक्राउ गरेको थियो ।

बुढाथोकी पक्राउ परेपछि थप ११ जना खाता खोलेका सेवाग्राहीलाई पनि प्रहरी पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेकामध्ये ३ जनालाई छोडेको छ भने बाँकी आठ जनालाई अनुसन्धान गर्नका लागि हिरासतमै राखेको छ ।

प्रहरीले ४ जना बैंकका कर्मचारीलाई पनि हिरातमै राखेको छ । प्रहरीले ५४ जना खातावाल सेवाग्राहीको संलग्नता रहेको दाबी गर्दै आएको छ । यता पक्राउ परेकाका आफन्तहरुले भने अनुसन्धान गलत ढंगले भइरहेको बताएका छन् ।

दाङ प्रहरीले बैंकका जिम्मेवार पदमा बसेका ब्यक्तिलाई पक्राउ नगरेर खातावाला सेवाग्राहीलाई पक्राउ गरेको भन्दै आइतबार र सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी छानबिनलाई स्वच्छ बनाउन सुझावसमेत दिएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया