‘अहिले नाति–नातिनाले नै हजुरबा–हजुरआमा नै चिन्दैनन्, अनि कहाँबाट सिक्नु ज्ञान, सीप र अर्ती ?’

 असोज १४, २०७६ मंगलबार २०:३५:४४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - मंगलबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यसै अवसरमा लमजुङमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइयो ।

दिवस मनाइरहँदा ज्येष्ठ नागरिकको अवस्था, उनीहरुको हक–हितमा भएका प्रयासलगायतका विषयमा केन्द्रित रहेर लमजुङका उज्यालो सहकर्मी श्यामशितल परियारले ज्येष्ठ नागरिक समाज लमजुङका अध्यक्ष नारायणबहादुर कुँवरसँग  संक्षिप्त कुराकानी गर्नुभएको छ ।

ज्येष्ठ नागरिक समाजका ऐना हुन्, ‘उनीहरुको सम्मान हुनु आवश्यक छ’ भनेर भन्ने गरिन्छ । के भनेअनुसार नै उनीहरु घर, परिवार, समाजबाट सम्मानित हुनुका साथै सुख–खुशी ढंगले जीवन बाँचिरहेका छन् त ?

हुनुपर्ने चाहिँ त्यही हो । तर पहिले र अहिलेमा फरक छ । हामी सानो छँदा बुवा, आमा, हजुरबुवा, हजुरआमासँग बस्थ्यौँ । छोरा–बुहारीले बाउ–आमाको सम्मान गर्थे । रेखदेख गर्थे । सञ्चो–बिसञ्चो हुँदा स्याहार गर्थे । पछिल्लो समय परिवार छोट्टिँदै जान थालेको छ । त्यसैले बुढाबुढीको हेरविचार गर्ने, स्याहार गर्ने कोही छैनन् ।

छोराहरु कमाउन विदेश भासिएका छन् । बुहारीहरु छोराछोरी पढाउने निहुँमा शहर झर्ने प्रवृत्ति बढ्दै गएको छ । गाउँमा त बुढाबुढी मात्रै छन् । भलै, छोराले पैसा पठाइदेलान् । तर पैसाले आवश्यक सामान किनेर लगिदिने कोही छैनन् ।

पहिले छोराछोरी विदेश पठाएर मेरो छोराछोरी, अमेरिका, अष्ट्रेलिया, जापान छन् भनेर खुशी हुने बाआमा, अहिले तिनै बाआमा बुढेसकामा बिरामी हुँदा अस्पताल लैजानेसमेत कोही छैन भनेर पिरोलिने अवस्था छ ।

बरु उपचार खर्च जति लाग्छ, पैसा त्यति पठाइदिन तयार छन् । तर बाउआमाको उपचारका लागि आउने फुर्सद उनीहरुलाई छैन । त्यसैले पनि प्रायः धेरै ज्येष्ठ नागरिक दुःखित भएर बाँचिरहेका छन् ।

ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक छ ? के यी कुराहरु नवपुस्तामा हस्तान्तरण भएको पाउनुभएको छ ?

पुरानो पुस्ताको ज्ञान, सीप त नयाँ पुस्तामा हस्तान्तरण हुनै छोडिसक्यो । पहिले छोरा नातिनातिना हजुरबाउ हजुरआमाको काखमा हुर्किन्थे । उनीहरुबाट अर्ती पाउँथे । ज्ञान, सीप सिक्ने मौका पाउँथे । अहिले त नातीनातिनाले आफ्नो हजुरबाउ हुजुरआमा भेट्दैनन् । चिन्दैनन् । अनि कहाँबाट उनीहरुले अर्ती, ज्ञान, सीप सिक्ने ?

पहिले बाउ सिकर्मी, डकर्मी भयो भने छोरा नातीसमेत सिकर्मी, डकर्मी हुन्थे । उनीहरुले अग्रजबाट ज्ञान सीप सिक्थे । अहिले त त्यस्तो अवस्था छैन । त्यसैले पनि पुराना ज्ञान, सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकिरहेको छैन ।

पछिल्लो समय एकल परिवारमा बस्न खोज्नेहरु बढ्न थालेका छन् । जसले गर्दा नातिनातिनाको हजुरबा, हजुरआमासँग भेटै हुँदैन । चिनजान नै हुँदैन । सम्बन्ध, माया, प्रेम नै हुँदैन । त्यसैले अर्ती, ज्ञान, सीपका कुरा सिक्ने टाढाको कुरा भयो ।

यहाँले यसो भनिरहँदा पछिल्लो समय एकल परिवारमा बस्न रुचाउनेको संख्या किन बढेको होला ?

पश्चिमा सभ्भ्यताको नक्कलले गर्दा यसो भएको हो । त्यसैले अहिले मानिसहरु संयुक्त परिवारमै बस्न रुचाउँदैनन् । त्यसैले बडो गाह्रो अवस्था आइरहेको छ ।

र अन्त्यमा, ज्येष्ठ नागरिकको हक–हितका लागि राज्यबाट भएका प्रयास र अझै उनीहरुको हक–हितका लागि राज्यले के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई ?

ज्येष्ठ नागरिकको हक–हितमा राज्यको तवरबाट केही कुरा त अवश्य भएका छन् । तर ज्येष्ठ नागरिकलाई उपचार खर्च, यातायात सेवामा ५० प्रतिशत छुट दिने, लाइनमा बस्नु नपर्नेलगायतका धेरै कुरा भने लिखितमै सीमित भएका छन् ।

ज्येष्ठ नागरिकका हक–हितमा उल्लेख गरिएका कुराहरु लागु हुनु आवश्यक छ । ज्येष्ठ नागरिकले सम्मानित भएर जीउन पाउने वातावरण राज्यले सिर्जना गर्नु आवश्यक छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया