‘६७ सय टावरमार्फत फागुनभित्र देशैभरी फोरजी सेवा पुग्छ, नागरिकले भन्नेछन्, ‘नेपाल टेलिकम हुँदाहुँदै अरु किन खोज्ने ?

 असोज १५, २०७६ बुधबार १२:३०:१८ | अर्जुन पोख्रेल
unn.prixa.net

नेपाल टेलिकमले बुधबारदेखि देशका ५० वटा सहरमा चौथो पुस्ताको मोबाइल सेवा अर्थात् ‘फोरजी’ सेवा सुरु गर्दैछ । टेलिकमले पहिलो चरणमा बुधबारदेखि दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, रुकुम, बाग्लुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा र पर्वतलगायतका ठाउँमा ‘फोरजी’ सेवा सुरु गर्दैछन् ।

देशैभरी फोरजी सेवा पुर्‍याउन टेलिकमले गएको माघमा झण्डै २० अर्ब रुपैयाँमा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौतामा एक वर्षभित्र देशैभरी फोरजी सेवा पुर्‍याउने भएकाले आउँदो माघसम्म देशैभरी फोरजी सेवा पुगिसक्ने टेलिकमको दाबी छ । फोरजी सेवाका बारेमा नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँग अर्जुन पोख्रेलले गरेको कुराकानी :

निकै ठूलो परियोजनाको रुपमा फोरजी परियोजना चलिरहेको छ । फोरजी भनेको के हो ?

फोरजी भनेको थ्रीजी र टूजी जस्तै मोबाइल सेटमा चलाउन सकिने उच्च डाटा रेट भएको प्रविधि हो ।

संसारभर नै अहिले मोबाइलबाट उच्च गतिको ब्रोडब्यान्डको रुपमा फोरजी सेवा चलाइरहेका छन् । हामीले पनि त्यही उच्च गतीको प्रविधि भित्र्याउन लागेको हो । हामीले आजदेखि सञ्चालन गरेको फोरजी भनेको सबैभन्दा उच्च गतिको डाटा चल्न सक्ने फोरजी हो । हाम्रो जस्तो स्पिडको फोरजी नेपालमा अरु कसैको पनि हुने छैन ।

उच्च गतिको डाटा चल्ने भन्नुभयो, तपाईंहरुको फोरजीमा डाटाको गति कतिसम्मको छ ?

हामीले अहिले गरेको सर्वेक्षण अनुसार २ सय ५० एमबीपीएससम्मको गतिमा इन्टरनेट चल्छ । प्रविधिको रुपमा यो फोरजी मात्रै होइन यो फोर र फाइभको बीचको प्रविधि हो । यसमा धेरै फिचर छन् । ग्राहकको मोबाइल र टावरबीचमा निकै द्रुत गतिको इन्टरनेटको प्रवाह हुन्छ ।

तपाईंले निकै उच्च गतिको इन्टरनेट सेवा चल्छ भन्नुभयो, यसमा आवाजको गुणस्तरमा पनि सुधार हुन्छ कि हुँदैन ?

तपाइँले राम्रो कुरा उठाउनुभयो । फोरजी सेवामा इन्टरनेटसँगै आवाजको गुणस्तर पनि सुधार हुन्छ । भ्वाइस ओभर एलटीइ नेटवर्क भन्ने अहिलेको मुख्य विशेषता हो । हाम्रो फोरजी मा यो विशेषता पनि छ । अब आवाज पनि एचडी नै हुनेछ । तर यसको लागि फोन गर्ने र उठाउने दुवै पक्षसँग एलटीई विशेषतासहितको फोरजी सेवा चाहिन्छ । एकातिर मात्रै फोरजी सेवा भएमा आवाज एचडी भने हुँदैन ।

कति मेगाहर्जमा अहिले नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको हो ?

हामीले प्रयोग गर्ने फोरजी १८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज व्यान्डविथ प्रयोग हुन्छ भने ८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज प्रयोग गर्छौं । १८ सय मेगाहर्ज क्षमता धेरै ग्राहक हुने शहरी क्षेत्रमा प्रयोग गर्छाैं  भने ८ सय मेगाहर्ज ग्रामिण तथा पहाडी र हिमाली क्षेत्रमा प्रयोग गर्छौं । टाढा टाढाको दूरीलाई समेट्नको लागि हामीले यो ब्यान्ड प्रयोग गर्छौं । ८ सय मेगाहर्ज धेरै क्षेत्र समेट्नको लागि महत्वपूर्ण छ, त्यसैले शहरका गल्ली गल्लीमा राम्रो सेवा दिन पनि यो प्रयोग गर्न सकिन्छ ।

अहिले टूजी र थ्रिजी का जति पनि टावर छन्, ती हटाएर नयाँ टावर नै बनाउने हो कि पुराना टावरमा फोरजी प्रविधि जडान गर्ने हो ?

टावरहरु भनेका पूर्वाधार हुन्, तिनले नै हामीलाई काम दिन्छन् । पुरानै टावरका संरचनामा हामीले फोरजी प्रविधिका बीटीएस उपकरणहरु, एन्टिना पावर सिस्टम लगायत जडान गर्छौँ । त्यसैले पुराना संरचना विस्थापित गर्दैनौँ ।

यस्तै अहिले भएका पूर्वाधारले सबै ठाउँ समेट्न नसक्ने भएकाले साढे ६ सयभन्दा धेरै टावरका पूर्वाधार पनि बनाइरहेका छौँ । हामीले एकपटक टावर बनायौं भने अरु प्रविधि जडान गर्न पनि सकिन्छ । अहिले हामीले बनाइरहेका टावरमा पछि फाइभजी प्रविधि पनि जडान गर्न सकिन्छ । त्यसैले अहिले केही महँगो भए पनि हामीले टावर बनाइरहेका छौँ ।

अब नेपाल टेलिकमको फोरजी देशैभरी पुग्दा कति टावर हुने भए त ?

अहिले भैरहेका टूजी र थ्रिजी प्रविधिका टावरसँगै हामीले फोरजीकै लागि भनेर थप साढे ६ सय नयाँ टावर थप्दैछौं । ४२ सय वटा ग्राउन्ड बेस भएका टावर हामीसँग हुनेछन्, सानातिना गरेर ६७ सय वटा टावरमार्फत हामीले फोरजी सेवा दिँदैछौँ । फोरजीको उपकरणलाई हामीले इनोट बी भन्छौँ, त्यो हामीले ६७ सय टावरमा जडान गर्ने हो । 

अहिले भैरहेको टूजी र थ्रीजी का टावर हट्छन् कि हट्दैनन् ?

हामीले सबै प्रकारका टावर राख्छौं । किनकी फोरजी सेवा भनेको अनिवार्य होइन, कुनै ग्राहकले टूजी नै चलाउनुहुन्छ होला, कुनैले थ्रिजी चलाउनुहुन्छ होला । अनि सबैको सिमकार्डले अनि मोबाइल सेटले फोरजी सपोर्ट नगर्न पनि सक्छ । त्यसैले हामीले टूजी र थ्रिजी का टावर अनि सेवालाई तत्कालै विस्थापित गर्दैनौँ ।

इन्टरनेट पनि छिटो चल्ने र आवाज पनि एचडी गुणस्तरको हुने भन्नुभयो, ग्राहकको लागि फोरजी सेवा महँगो पर्छ कि पर्दैन  ?

ग्राहकको लागि फोरजी महँगो होइन, सस्तो चाहिँ हुन सक्छ । पूर्ण रुपमा देशैभरी फोरजी सेवा पुग्यो भने हामीले अहिलेको भन्दा सस्तो दरमा इन्टरनेट सेवा दिन सक्छौँ भन्ने लागेको छ ।

हामी सरकारी कम्पनी हौँ । यसको प्रविधि र लागत महँगो भए पनि हामीले हाम्रा ग्राहकलाई भने सस्तो सेवा नै दिने कोशिस गछौंं । हामी महँगो मूल्यमा सेवा बेचेर नाफा कमाउने भन्दा पनि धेरैतिर पहुँच पुर्‍याउने र ग्राहक बढाउने लक्ष्यतर्फ उन्मुख हुन्छौँ । त्यसैले त नेपाल टेलिकमको नारा नै ‘राष्ट्रको सञ्चार’ भन्ने रहेको छ नि । हामीले शहरमुखीमात्रै नभइ देशैभरीका कुनाकाप्चामा पनि पुगिरहेका छौं, हामीले शहर मात्रै हेर्ने भएको भए नागरिकको यत्रो माया कसरी पाउँथ्यौँ होला र ।

फोरजीको महत्व सामान्य इन्टनेटको स्पिडसँग मात्रै नभएर समाजका हरेक व्यापार विजनेशदेखि नयाँ प्रविधिमा फड्को मार्न नागरिकलाई उत्साहित गराउनुसँग पनि छ । त्यसैले हामीले यसलाई गेम चेन्जर आयोजना पनि भन्छौँ । किनकी यसले हाम्रो समाजलाई नै नयाँ बाटोतर्फ लैजान मद्दत गर्छ नि त ।

संयुक्त राष्ट्रसंघकै एउटा अध्ययन अनुसार जुन देशमा १० प्रतिशतका दरले मोबाइल सेवा बढ्छ, त्यो देशको कुल गार्हस्थ उत्पादन अर्थात जीडीपी १ दशमलव ३ प्रतिशतले बढ्छ  । हामीले फोरजी सेवा विस्तार गर्दा हामीलाई त फाइदा छ नै, समग्र देशको जीडीपीमा पनि सकारात्मक प्रभाव पर्नेछ ।

गएको माघमा तपाईंहरुले एक वर्षभित्र देशका सबै ठाउँमा फोरजी सेवा विस्तार गर्ने भनेर १९ अर्ब रुपैयाँ भन्दा धेरैको सम्झौता गर्नुभयो । अहिले बल्ल २६ सहरमा फोरजी सेवा सुरु भयो, एक वर्षभित्र यो काम सकिन्छ ?

तपाईं आफैँ विचार गर्नुहोस्, यति ठूलो परियोजना एक वर्षमा सक्नु चानचुने कुरा होइन । १९ अर्ब भन्दा धेरै रकम खर्च भएको एउटा परियोजना सुरु भएको ७/८ महिनामै प्रयोगमा आउनु भनेको तर एकदमै सफलताको कुरा हो । नेपालमा यस्ता परियोजना एकदमै कम मात्रै देख्न पाइन्छ । अहिले भैरहेको द्रुत गतिको कामले नै हामी एक वर्षमा यो परियोजना पूरा गर्छौँ । आउँदो फागुनभित्र हामीले देशका सबै ठाउँमा फोरजी सर्भिसमार्फत ब्रोडब्यान्ड सेवा पुर्‍याउन सक्षम हुन्छौँ ।

२०७३ सालमा नेपालमा सबैभन्दा पहिले फोरजी सेवा नेपाल टेलिकमले नै सुरु गरेको हो, तर अहिले तपाईंहरुका ग्राहक झण्डै ९ लाखको हाराहारीमा छन्, तर तपाईंभन्दा पछि सेवा सुरु गरेको एनसेलका फोरजी ग्राहक झण्डै ३० लाख छन्,  टेलिकम किन यसरी पछि पर्‍यो  ?

हामी सार्वजनिक र सरकारी संस्था भएकाले केही सीमितता पनि छन् । व्यापारको नाममा हामीले धेरै सीमाभित्र बस्नुपर्छ । प्रविधी, उपकरण र सेवा खरिद गर्दा पूर्ण रुपमा सार्वजनिक खरिद ऐनभित्र रहेर गर्नुपर्छ । अन्तर्राष्ट्रिय बोलपत्रहरु आव्हान गर्नुपर्छ, केही विधि र प्रक्रिया हुन्छन् ।

हामी फोरजीमा पछि परेको हो नै । हामीले जुन बेलामा काठमाण्डाै र पोखरामा सेवा विस्तार गरेका थियौँ, त्यसको लगत्तै हामीले यसलाई विस्तार गर्न सकेको भए अहिले हामी धेरै नै माथि हुने थियौं । तर विविध कारणले हामी परेको हो ।

तर अब हामीले जुन तरिकाले देशैभरी फोर जी सेवा विस्तार गर्दैछौँ, हाम्रा ग्राहक बढ्नेमा त शंकै गर्नु परेन । हामीले गुमाएको बजार फिर्ता गर्ने मात्र होइन नयाँ बजार पनि हासिल गर्नेछौँ । नागरिकले नेपाल टेलिकमको सेवा हुँदाहुँदै अर्को किन खोज्ने भन्नुभएको छ । ग्राहकको यो विश्वासलाई हामीले फोर जी सेवामार्फत थप बलियो बनाउँदैछौँ । 

अन्तिम अपडेट: मंसिर २१, २०७६

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया