नगरपालिका समृद्ध बनाउन जनप्रतिनिधिकाे पहल : 'गुणस्तरीय शिक्षा'देखि 'अनुदानकाे व्यवस्था'सम्म

 असोज १५, २०७६ बुधबार १२:५२:१३ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – तिलागुफा नगरपालिकालाई समृद्ध बनाउन जनप्रतिनिधिले विकासका कामहरु अघि बढाउन थालेका छन् । विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा तिलागुफा नगरपालिकाले काम गर्न थालेको नगरपालिका प्रमुख रत्नबहादुर शाहीले बताउनुभयो । 

गुणस्तरीय शिक्षाका लागि कक्षाकोठा व्यवस्थापन, करार शिक्षक नियुक्ति, गृहकार्य पाठशाला लगायतका कार्यहरु अघि बढाइएका छन् । विद्यालयमा इलेक्ट्रोनिक (विद्युतीय) हाजिरी, बालसुलभ विद्यालय, गरिब तथा विपन्न परिवारका बालबालिकाका लागि वार्षिक ५० हजार रुपैयाँ शिक्षामा लगानी गर्ने काम नगरपालिकाले अघि बढाएको छ । 

नगरपालिकाले ‘एक घर एक धारा’ कार्यक्रम नगरपालिकाभरि लागू गर्ने भएको छ । यो कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नम्बर ३, ४, ७ र १० मा मिटरसहित शुद्ध खानेपानी पुगेको उपमेयर दन्ता नेपाली दर्शनाले बताउनुभयो ।   

नगरपालिकाका ११ वटै वडामा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरिएको छ । यो कार्यक्रम सञ्चालनका लागि करारका कर्मचारी व्यवस्थापन गरिएको छ । यसका लागि आवश्यक औषधि नगरपालिकाले सार्वजनिक खरिद नियमावलीअनुसार खरिद गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले बताउनुभयो ।   

त्यस्तै नगरपालिकाले ‘एक घर एक करेसाबारी’, ‘एक घर पाँच फलफुल बिरुवा’, भेडाबाख्रा उत्पादन क्षेत्र, स्याउ, ओखर, सिमी, फापर, मार्सी धान, जौ उत्पादन गर्न आवश्यक अनुदानको व्यवस्था गर्ने तयारी गरिरहेको छ । कृषिमा दुई वर्षमा प्रतिफल आउने गरी कार्य भैरहेको मेयर शाहीले बताउनुभयो ।

तिलागुफा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा जडिबुटीबाट १२ लाख रुपैयाँ, बालुवा/गिट्टीबाट चार लाख राजश्व संकलन गरेको छ । सबै वडामा आर्थिक वर्ष २०७६/०७७ मा सडक पुर्‍याउने लक्ष्य राखेको तिलागुफा नगरपालिकाले २ नम्बर वडा बाहेक अन्य सबै वडामा सडक पुर्‍याएको छ ।   

‘उज्यालो गाउँ’ अन्तर्गत नगरपालिकाले वडा नम्बर ८, ९, १० र ११ मा विद्युत् सेवा पुर्‍याएको छ । ढालखोला ६५ किलोवाट लघु जलविद्युत् आयोजना, बन्चुगाड १०० किलोवाट लघु जलविद्युत् आयोजना र रताडा ६५ किलोवाट लघु जलविद्युत् आयोजनाबाट गाउँगाउँमा विद्युत् सेवा पुर्‍याइएको हो । 

त्यस्तै नगरपालिकाले २३ वटा स्थानीय कानुन निर्माण गरेको उपमेयर दर्शनाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया